युएईमा काउन्सेलर दीनबन्धुको धन्दाले नेपाली श्रमिकहरू हैरान, यी २५ जना १० महिनादेखि बन्धक

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को अवुधाबी मुसफास्थित अल फलाह सेक्यूरिटी सर्भिस र नाइट्सब्रिज ग्लोबल सेक्युरिटी सर्भिस कम्पनीले २५ नेपाली युवालाई सबै सेवा सुविधाबाट वञ्चित गरेर बन्धक अवस्थामा राखेको छ ।
काम गरेबापत पाउनुपर्ने तलब, ओभरटाइम भत्ता र ईन्ड अफ सर्भिस (उपदान)को रकम समेत नदिई कम्पनीले बन्धक बनाएको आरोप पीडित बनेका नेपाली कामदारहरूले लगाएका छन् । सेक्यूरिटी गार्डको रूपमा त्यहाँ कार्यरत नेपाली कामदारलाई विभिन्न समयमा राजीनामा दिन बाध्य पारेर क्याम्पमा बन्धक अवस्थामा राखिरहेको अवुधाबीबाट केही दिनअघि मात्र नेपाल आएका पासाङ वाईबाले बताएका छन् ।
वाईवाले भने, ‘त्यस कम्पनीमा १२ वर्षअघिदेखि काम गरेका नेपालीहरू छन् । उनीहरूले काम छोडेर स्वदेश फर्किँदा पाउनुपर्ने रकम ठूलो परिमाणमा छ ।’
‘भिसा सकिएर डेढदेखि दुई वर्षसम्म पनि भिसा नवीकरण नगरिएका २५ जना नेपाली श्रमिकलाई कम्पनीले बन्धक बनाएर त्यहीँ राखेको छ’, वाईबाले भने, ‘उनीहरूले विभिन्न सुविधाको करिब पौने तीन करोड (७,५८,९३९) दिराम रकम भुक्तानी पाउनुपर्नेछ ।’
वाईबाका अनुसार अल फलाह र नाइट्सब्रिजले विभिन्न समयमा राजीनामा दिन बाध्य पारेर १० महिनादेखि विभिन्न बहाना र झूठो आश्वासन दिई अवुधाबीको वेस्ट बानियास, अल मफ्रक, चाईना क्याम्प, वर्कर सिटी– २ स्थित अल ईशोस भिलेज क्याम्पमा बन्धक बनाएको छ ।
बन्धक बनाइएकाहरू अधिकांशको भिसाको अवधि सकिएका कारण ‘ओभर स्टे’ भएर क्याम्प बाहिर हिँडडुल गर्न नपाउने अवस्थामा छन् । उनीहरूले आफूहरूले पाउनुपर्ने रकम दिलाउन मागसहित अवुधाबीस्थित नेपाली दूतावासमा अगष्ट ३ तारिखमा पुन: निवेदन दिएका छन् । यसभन्दा अघि पनि पटक–पटक प्रत्यक्ष रुपमा भेटेर, हस्ताक्षर सहितको निवेदन बुझाएर र फोन मार्फत् यसबारे जानकारी गराएकोमा सुनुवाइ नभएको पीडित श्रमिकहरूको गुनासो छ ।

‘हामी विगत १० महिनादेखि बेरोजगार भई क्याम्पमा बन्दी जसरी बस्नु परेको छ । यसरी बस्दा मानसिक आघात, फ्रस्ट्रेसन, डिप्रेशनको सिकार बनेका छौं । यहाँ आएर आर्थिक उपार्जन गरी घर व्यवहार धान्नुपर्ने हाम्रो जिम्मेवारी कम्पनी कै लापरबाही र बेवास्ताका कारण भताभुङ्ग बनेको छ । त्यसैले राजदूतसँग हामीले पाउनुपर्ने सम्पूर्ण इन्ड अफ सर्भिस रकम र १० महिनासम्म विनाकाम क्याम्पमा बन्दी बनाई राखेको हुँदा त्यसको क्षतिपूर्ति समेत दिलाई दिन पूर्ण आशाका साथ सविनय अनुरोध गर्दछौं’, बन्धक बनाइएका श्रमिकले यूएईस्थित नेपाली राजदूतलाई बुझाएको निवेदनमा उल्लेख छ ।
अल फलाह र नाइट्सब्रिज ग्लोबल सेक्युरिटी दुबईमा दर्ता गरेको कम्पनी जाएद फलाह हामुद जराह अल कतानीले चलाइरहेकोमा दुवै कम्पनी योजनावद्ध रुपमा बन्द गराई भाइको नाममा अर्को नयाँ सेक्यूरिटी कम्पनी नाइट्सब्रिज ग्लोबल सेक्यूरिटी अवुधाबीमा दर्ता गरेका छन् । पुरानो कम्पनीमा काम गरिरहेकाहरूलाई दिनुपर्ने तलबभत्ता नदिई नयाँमा काम गर्न दबाब दिन थालिएको छ ।
वाईवाका अनुसार नयाँ कम्पनीमा काम सुरू गर्न अल फलाहमा काम गर्ने श्रमिकहरूसँग भिसा बापत प्रति व्यक्ति ४५ सय दिराम (१ लाख ६२ हजार रूपियाँ) जबर्जस्ती तिर्न भनिएको छ । उपदानबापतको रकम नलिई नयाँ कम्पनीमा आबद्ध नहुने भए राजीनामा गर्न दबाब दिइँदै आइएको छ । कम्पनीको दबाबकै कारण बाध्यतावस राजीनामा दिएको नेपाली श्रमिकको भनाइ छ । सो कम्पनीमा नेपाली बाहेक पाकिस्तान, फिलिपिन्स, भारत लगायतका मुलुकका डेढ सयको हाराहारीमा श्रमिक छन् ।
बन्धक बनाएर राखिएका नेपाली श्रमिकहरूमध्ये अधिकांशको भिसा अवधि सकिसकेको छ । कम्पनीले डेढदेखि दुई सालसम्म पनि भिसा नवीकरण प्रक्रियालाई अगाडि नबढाईदिंदा नेपाली श्रमिकहरू पूर्ण रुपमा कानून विपरित बसेको र कुनै पनि बेला स्थानीय प्रहरीद्वारा पक्रेर जेल हाल्न सक्ने पीडितहरूको भनाइ छ ।
यस अगाडि सो कम्पनीका काम गरेका १४ जनाले गत फागुन २१ गते श्रम सचिवलाई सोही प्रकृतिको हस्ताक्षर सहितको पत्र बुझाउँदै आफूहरूले पाउनु पर्ने रकम दिलाइ दिन आग्रह गरेका थिए । अबुधाबी, युएई स्थित नेपाली दूतावासका श्रम काउन्सेलर दीनबन्धु सुवेदीले सो कम्पनीमा काम गरेका र रकम नदिइएका नेपालीहरूलाई न्याय दिलाउन दूतावासले निरन्तर प्रयत्न गरिरहेको बताउँदै आएपनि नेपाली श्रमिकहरूको पक्ष र हितमा अहिलेसम्म कुनै प्रकारको सुनुवाई भएको छैन र उपलब्धी शून्य भएको छ ।

पीडित नेपाली श्रमिकहरूले यसअघि हस्ताक्षरसहितको निबेदन पेश गर्दा नै नेपालबाट यस नाईट्स्, बृज ग्लोबल सेक्युरिटी सर्भिसेस कम्पनीमा आउनका लागी तयारी अवस्थामा रहेका नयाँ नेपालीहरूलाई अबिलम्ब रोक्नका लागि अपील गरिएपनि नेपाली दूतावास अबुधाबी, युएईका कर्मचारीकै लापरवाहीका कारण नयाँ ८ नेपाली श्रमिकहरू केही दिनअघि मात्रै यसै कम्पनीका लागि आईपुगेका छन् । यसबाट नेपाली दुताबास, अबुधाबी, युएईका कर्मचारीहरू नै कतै सेक्युरिटी कम्पनीकै कर्मचारीहरूको कमिशनको खेल र प्रलोभनमा पर्नु भएको त होइन भन्ने कुराको आशंका पनि पीडितहरूले गरेका छन् ।
काउन्सेलर दीनबन्धु सुवेदीले पीडित २५ नेपाली श्रमिकहरूले त्यहाँ युएईको श्रम मन्त्रालयमा र अदालतमा सेक्युरिटी कम्पनीबिरुद्ध दर्ता गरेका मुद्दा फिर्ता लिएकै कारण उजुरी फिर्ता लिएका कारण यो केस लम्बिएको भनिए पनि यथार्थमा श्रम मन्त्रालय र अदालतमा दर्ता भएको मुद्दा अझै फिर्ता लिइनसकिएको जानकारी पासाङ वाईबाले बताए ।
यी हुन् १० महिनादेखि बन्धकमा परेका २५ नेपाली श्रमिक
दिनेश उप्रेती, देवप्रसाद पुलामी, शिवराम गिरी, सुशील लामिछाने, पासाङ लामा, प्रितम थापा मगर, ईन्द्रबहादुर बस्नेत, कृष्णबहादुर विश्वकर्मा, प्रदीप विष्ट, उज्वल रेग्मी, समित सिंह, डिकबहादुर कार्की, मीनकुमार राई, दिलानन्दसिहं धामी, रेशमबहादुर मगर, सन्तोष थापा, सुरेन्द्र बुढाथोकी, आत्मराम भण्डारी, किशोर शाही, विवेक शिवा, मिनराज गिरी, राजेश भट्ट, विक्रम पन्त र विशाल क्षेत्री

फेसबुकबाट तपाईको प्रतिक्रिया