चीन घुमेर आएका गृहमन्त्रीले ढाल्न लागेको प्रचण्ड सरकार कांग्रेसले बलियो बनाइदियो

काठमाडौं । उप–प्रधान तथा गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारलाई असहयोग हुने गतिविधि गरिरहेका बेला नेपाली कांग्रेसले सत्ता गठबन्धनको स्थिरता र स्थायित्वको पक्षमा निर्णय गरेको छ ।
सोमबार सम्पन्न कांग्रेस संसदीय दलको बैठकपछि जारी भएको विज्ञप्तिमा कांग्रेसले सत्ता गठबन्धनलाई झन् बलियो बनाउने निर्णय गरेको उल्लेख छ । कांग्रेसले सरकार र गठबन्धनका विरुद्ध आइरहेका गतिविधिको विश्वास नगर्न आग्रह गरेको छ ।
‘सरकारमा सहभागी दलहरूको गठबन्धन नेपाली कांग्रेसको पहल, प्रयत्न र सहयोगमा बनेको हो’, विज्ञप्तिमा भनिएको छ, ‘सोही अनुसार वर्तमान सरकारले निरन्तरता पाएको छ ।’
कांग्रेसले भनेको छ, ‘राष्ट्रको सर्वोत्तम हितका लागि राजनीतिक स्थिरता आवश्यक छ । गठबन्धनको स्थितरता र स्थायीत्वका लागि प्रभावकारी रुपमा काम गर्न आवश्यक छ ।’
‘नेपाली कांग्रेस संसदीय दलको यो बैठक गठबन्धनको स्थिरता र स्थायीत्वका लागि प्रभावकारी रुपले काम गर्ने निर्णय गर्दछ’, कांग्रेसले भनेको छ ।
कांग्रेसले संघीय संसदमा धेरै महत्वपूर्ण विधेयकहरू विचाराधीन रहेको भन्दै संक्रमणकालीन न्याय सम्बन्धि विधेयक, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार नियन्त्रण गर्ने लगायत तमाम विधेयक चाडै पारित गर्नुपर्ने निर्णय गरेको छ ।
‘संसदको दुईवटा अधिवेशनबाट हालसम्म न्यून संख्यामा विधेयक पारित भएका छन्’, कांग्रेसले भनेको छ, ‘संसदमा विचाराधीन सबै विधेयकलाई चाडो भन्दा चाडो पारित गर्न यो बैठक सरकार र संसदमा क्रियाशील सबै दलहरूलाई हार्दिक अपील गर्दछ ।’
कांग्रेसले भनेको छ, ‘सरकारले संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने र मौलिक हक सुनिश्चित गर्ने विधेयक तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्ने सम्बन्धि विधेयक ल्याउनुपर्छ ।’
‘नेपाली कांग्रेस संसदभित्र विधायनको काममा दत्तचित्त भई प्रभावकारी रुपले लाग्ने निर्णय गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भइसकेको भन्दै बजेटमा देखा परेको कमी कमजोरीलाई आगामी दिनमा सुधार गर्ने आवश्यक व्यवस्था मिलाउन, पूँजीगत खर्च कम हुने अवस्थालाई उचित ढङ्गले सम्बोधन गर्न र चालु आर्थिक वर्षको बजेटलाई प्रभावकारी रुपले कार्यान्वयन गर्न सरकारलाई अनुरोध गरेको छ ।
कांग्रेसले भनेको छ, ‘संसद नेपाली जनताको सार्वभौम र शीर्षस्थ संस्था हो । कानून निर्माण गर्ने, सरकारका काम कारवाहीमा निरन्तर अनुगमन र निगरानी गरी सरकारलाई सदनका प्रति जवाफदेही बनाउने, देश र जनताका महत्वपूर्ण एवं समसामयिक विषयमा छलफल गरी राष्ट्र र जनताको सर्वोत्तम हितमा काम गर्नु संसदको मुख्य काम हो ।’
‘संसद जति क्रियाशील र प्रभावकारी हुन सक्यो त्यत्तिनै देश र जनताका हितमा काम हुन सक्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सफलीभूत हुने भएको हुँदा संसदलाई पूर्ण रुपले प्रभावकारी बनाउनु पर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाली कांग्रेस संसदीय दलको यो बैठक संघीय संसदलाई प्रभावकारी बनाउन निरन्तर काम गरी रहने प्रतिबद्धता गर्दछ’, कांग्रेसले भनेको छ ।
गृहमन्त्री श्रेष्ठ अहिलेको गठबन्धनबाट सन्तुष्ट छैनन् । श्रेष्ठले अहिलेको गठबन्धन भत्काएर एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई प्रधानमन्त्री बनाएर एमाले र माओवादी मिलेर सरकार बनाउने पक्षमा छन् । सोही कारण संसद र सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई चिढ्याउने गतिविधिहरू गरिरहेका छन् ।
केही हप्ता अगाडि चीनको भ्रमण गरेर आएपछि गृहमन्त्री श्रेष्ठले आफूलाई गठबन्धन विरोधीका रुपमा देखाउन थालेका छन् ।
गृहमन्त्री श्रेष्ठले कसैले नाम लिएको भरमा कांग्रेसका नेताहरूलाई पक्राउ पर्ने, थुनामा पठाउने जस्ता गतिविधि गरेका छन् ।
श्रेष्ठले माओवादीका नेता कृष्णबहादुर महरा र उनका छोराहरू सुन तस्करीमा संलग्न भएको सीआईबीको प्रतिवेदन हुँदा पनि कारबाही गरेका छैनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया