हिनामिना काण्डमा चिनियाँ पूर्वराजदूत समेत रहेका नाइकेसँग सीआईबीले लियो बयान

काठमाडौं । नेपाल सरकार पूर्वमुख्यसचिव तथा चीनका लागि नेपाली पूर्वराजदूत लीलामणि पौड्यालसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललिता निवासको जग्गा हिनामिना काण्डमा बयान लिएको छ ।

आइतबार सीआईबीले पत्र काटेर पौड्यालसँग बयान लिएको हो । सीआईबीका अनुसन्धान अधिकृतले पौड्यासँग बालुवाटारको जग्गा प्रकरणमा केन्द्रित रहेर ६/७ घण्टा लामो समय बयान लिएका छन् ।

सर्वोच्च अदालतले मन्त्रिपरिषदले गरेको चार वटा निर्णयमा संलग्नहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश गरेसँगै सीआईबीले पौड्यालसँग पनि बयान लिएको छ । नेपाल सरकारको मुख्यसचिव जस्तो व्यक्तिले हचुवाको भरमा जग्गा काण्डको फाइल स्वीकृत गरेको आरोप छ । उनलाई मुख्य आरोपीका रुपमा प्रहरीले हेरेको छ ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा मुख्य सचिव बनेका पौड्यालमाथि सीआईबीले अनुसन्धान अघि बढाएपछि धेरैको हावा खुस्किनेछ । पौड्याल २०६९ साउन २२ देखि २०७२ साउन २१ सम्म मुख्य सचिव थिए ।

गृह मन्त्रालय अन्तर्गतको समरजंग कम्पनीको नाममा रहेको ललिता निवासको जग्गा पशुपति टिकिन्छा गुठीको नाममा सार्न मन्त्रिपरिषदले सैद्धान्तिक स्वीकृति दिएको थियो । गुठीको नाममा जग्गा दिने स्वीकृतीलाई मुख्यसचिवको हैसियतमा पौड्यालले प्रमाणीकरण गरेका छन् ।

प्रहरीले यो प्रकरणमा पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छदार सहित ४ जना पूर्व मन्त्रीहरूविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिसकेको छ ।

अदालतबाट पूर्जी जारी भएसँगै पूर्व उप–प्रधानमन्त्री गच्छेदार, पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह सीआईबीको खोजी सूचीमा छन् ।

सर्वोच्चको आदेशअनुसार पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईमाथि समेत अनुसन्धान गर्न बाटो खुलेको छ ।

Published : Monday, 2023 August 14, 8:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया