नाम चलेको कागबेनी बजारमा यसरी भयो ठूलो क्षति, पूर्वमन्त्री थकालीद्वारा उद्धार र राहतको अपील
काठमाडौं । मुस्ताङ जिल्लाको काग खोलाबाट आएको बाढीका कारण बजार इलाकाका २५ भन्दै धेरै घरहरूमा क्षति भएको छ ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागवेनी बजारमा काग खोलाबाट आएको बाढीको कारण बजार इलाका जलमग्न भई २५ भन्दा बढी घरहरूमा क्षति भएको नेपाली सेनाले जनाएको छ ।
कागवेनी लोमान्थाङ जाने पक्की पुल र काठे पुल समेत बगाएको कारण आवतजावतमा कठिनाइ भएको छ ।
सो इलाकामा नेपाली सेनाको उद्धार टोली परिचालित भई अन्य सुरक्षा निकाय तथा स्थानीयहरूको सहयोगमा स्थानीयवासीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी उद्धार कार्य भइरहेको सेनाको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचन थकालीले काग खोलाको बाढीले भएको क्षति र नोक्सानीप्रति दु:ख व्यक्त गरेका छन् । उनले बाढीमा परेकाहरूको उद्धार र राहतका लागि सरकारसँग आग्रह गरेका छन् ।
पूर्वमन्त्री थकालीले भने, ‘मुक्तिनाथ र झोग खोलाले कागबेनी बजारलाई निक्कै क्षति पुर्याएको खबर प्रतिनिधि सभाका सांसद योगेश गौचन थकाली र वडाध्यक्ष कर्मा ग्याचोक गुरुङले दिनु भएको छ ।’
‘कागबेनीका दाजुभाइ दिदीबहिनीहरू नआतिकन सजक रहनु होला । प्रमुख जिल्ला अधिकारीसँग सम्पर्कमा छु । नेपाली सेना र प्रहरीले उद्धार गर्नेछ’, थकालीले भने ।
बाढीले पुर्याएको नोक्सानीप्रति प्रतिनिधि सभाका सांसद योगेश गौचन थकालीले पनि चिन्ता जनाएका छन् । उनले बाढीको चपेटामा परेका नागरिकका लागि उद्धार र राहतका लागि पहल गर्ने बताएका छन् । सांसद थकालीले संकटमा परेका जनतासँग आफू हमेसा साथ रहेको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया