एमालेले नाराबाजी गरेपछि रविहरूले मुड्कीले टेबल हाने, कांग्रेसद्वारा गृहमन्त्रीको राजीनामा माग

काठमाडौं । एमालेले विरोध गरेपछि प्रतिनिधि सभाको बैठकफेरि पनि अवरुद्ध भएको छ ।

सोमबार बैठक कार्यसूचीमै प्रवेश नगरी भदौ ३ गतेसम्मका लागि संसद स्थगित भएको छ ।

बैठक सुरु हुनासाथ एमाले सांसदहरू आसनबाट उठेर विरोध गरेका थिए । एमाले सांसद उठिरहेकै बेला नेपाली कांग्रेस सांसद सुनिलकुमार शर्मा पनि आसनबाट उठेका थिए ।

सभामुख देवराज घिमिरेले सांसद शर्मालाई आफ्ना कुरा छोटकरीमा राख्न समय दिएका थिए ।

सांसद शर्माले आफूले सुन तस्करीका नाइकेलाई पक्राउ गर्नुपर्छ भनेर बोलेपछि सरकारले पक्राउ गरेको आरोप लगाए । उनले गृहमन्त्रीको राजीनामा मागेका छन् ।

शर्मा बोलिसकेपछि सभामुख घिमिरेले एमालेका सांसद मानबहादुर राईलाई बोल्न दिएका थिए । राई बोल्न लाग्दा माओवादी केन्द्रका प्रमुख सचेतक समेत रहेका हितराज पाण्डेले शर्माको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । संसद शर्माको अभिव्यक्ति रेकर्डबाट हटाउन पाण्डेले माग गरेका छन् ।

एमालेका सांसद राई बोलिसकेपछि सभामुख घिमिरेले बैठकलाई कार्यसूची अनुसार अघि बढाउने तरखर गरेपछि एमाले सांसदहरू नाराबाजीमा उत्रिएका थिए ।

एमालेका सांसदहरूलाई आसन ग्रहण गर्न सभामुख घिमिरेले आग्रह गर्दा पनि नाराबाजी नरोकिएपछि भदौ ३ गतेसम्मका लागि बैठक स्थगित भएको छ ।

एमालेले साउन १० गतेदेखि नियमित रुपमा सदन अवरोध गर्दै आएको छ । एमालेले तस्करीको सुन छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र र न्यायीक छानविन समिति गठन गर्नुपर्ने अडान राख्दै आएको छ ।

एमालेका सांसदहरूले सुन तस्करलाई कारबाही गर्नुपर्ने, तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने लगायतका नारा लगाएका छन् ।

एमालेका सांसदहरूले नारावाजी गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले टेबल ठोकेर सभामुखको ध्यानाकर्षण गराउन खोजेका थिए ।

निर्धारित समयभन्दा करिब २ घण्टा ढिलो चलेको सोमबारको बैठकमा बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरू आसनबाट उठेका थिए ।

कांग्रेसका सांसद शर्माले आफ्नो कुरा राख्ने क्रममा राज्यसत्ताले विना पुर्जी पक्राउ गरेको भन्दै पक्राउ गरेपछि पनि आफूमाथि दुर्व्यवहार भएको बताएका छन् ।

शर्माले आफ्नो पक्षमा बोलिदिने सबै पार्टीका सांसदहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।

Published : Monday, 2023 August 14, 5:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया