म सभापतिमा उठ्न पाउँदैन, नडराएर पार्टीमा काम गर्नुस् : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू तेस्रोपटक सभापतिमा उठ्न नपाउने भएकाले डर नराख्न नेताहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार चितवनमा भएको डेमोक्रेटिक लयर्स एसोसिएसनको ११औं महाधिवेशनमा देउवाले तेस्रोपटक पार्टी सभापति लड्न आफू नपाउने बताएका हुन् । उनले आफूबाट नडराउन नेताहरुलाई आग्रह गर्दै पार्टीभित्र काम गर्न निर्देशन दिएका छन् ।

कांग्रेसको विधान अनुसार दुईपटक भन्दा बढी सभापति हुन नपाउने व्यवस्था छ । विधानको उक्त व्यवस्था हटाउने पक्षमा आफू नरहेकाले नेताहरुले डर नराख्न सभापति देउवाले आग्रह गरेका छन् ।

एमालेले ७० वर्ष उमेर हद हटाएको बताउँदै देउवाले कांग्रेसमा रहेको व्यवस्था हटाउने पक्षमा आफू नरहेको बताएका छन् । सभापति देउवाले पार्टीभित्रका सबै मिल्नुको विकल्प नरहेको बताएका छन् ।

देउवाले डीएलएको निर्वाचनमा सकेसम्म सहमतिपूर्ण नेतृत्व चयन गर्न सुझाव दिएका छन् । सर्वसम्मत हुन नसके चुनावमा जान र स्वच्छ प्रतिस्पर्धा गर्न उनले सुझाव दिएका छन् ।

कांग्रेसका महामहामन्त्री गगन थापाले एउटै व्यक्ति दुई पटकभन्दा प्रधानमन्त्री किन बन्ने भन्दै प्रश्न उठाएका छन् ।

थापाले भने, ‘एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री किन बन्ने? दुई, तीन, चार चोटि प्रधानमन्त्री हुने कुरा व्यक्ति वा नेतासँग जोडिएको प्रश्न होइन । विधिसँग जोडिएको प्रश्न हो ।’

एउटै व्यक्ति पटक पटक एउटै पदमा रहने विषय पार्टीभित्र खुलेर छलफल गर्ने बेला भएको थापाले बताएका छन् । कांग्रेस ठीक ठाउँमा उभिएन भने नेपालमा विधिको शासन नरहने थापाको बताएका छन् ।

पार्टीभित्र क्रियाशील सदस्यता वितरणको प्रक्रियाले गुट बनेको थापाले बताएका छन् । सीमित व्यक्तिलाई सदस्यता दिने, दिइएको सदस्यताका आधारमा प्रतिनिधि छान्ने प्रणाली गलत रहेको थापाले बताएका छन् ।

कांग्रेस नेता शेखर कोइरालाले पार्टी जनतासँग टाढिएको बताएका छन् । उनले जनतासँग जोडिने कार्यक्रम ल्याउनु अहिलेको पहिलो आवश्यकता रहेको उल्लेख गर्दै टाढिँदै जानु दु:खद भएको बताएका छन् ।

उनले भने, ‘जनताको विचको स्थितिलाई सहि ढंगले जोड्न सकेनौँ भने हामीले हाम्रो औचित्य गुमाउदै जानेछौँ ।’

उनले राजनीतिकर्मीलाई आम नागरिकको कठघरामा उभिएर आफ्नो औचित्य प्रमाणित गर्न हम्मे हम्मे परेको बताएका छन् ।

कोइरालाले भने, ‘किन र के कारणले यस्तो अवस्था आयो ? म चाहन्छु एकपटक हामी सबै राजनीतिकर्मीले आत्मसमिक्षा र चिन्तन गर्नुपर्ने भएको छ ।’

पार्टी नेताहरु सुध्रिन तयार रहेको र पार्टी सुधार्ने प्रतिवद्धता कोइरालले गरेका छन् । उनले संवैधानिक निकायहरुको क्षयीकरण भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले विभिन्न वहानामा लोकतान्त्रिक संस्थाहरु र संवैधानिक निकायहरुलाई कमजोर बनाएको बताएका छन् । उनले राजनैतिक संकट तथा निरंकुशताका समयमा हामी खरो उत्रिएको कांग्रेस बेला बेलामा चुकेको बताएका छन् ।

उनले भने, ‘कहिलेकाही चुकेका पनि छौं । व्यवहारिक राजनीतिका नाममा कतिपय विषयमा आँखा चिम्लेका छौं ।’

उनले गणतन्त्र दिवसको दिनमा आममाफी दिने निर्णयप्रति कोइरालाले असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले भने, ‘न्यायलयबाट सजाय तोकेका एकजना राजनीतिकर्मी मात्र होइन झण्डै दुई दर्जनले राष्ट्रपतिबाट आममाफी पाए ।’

निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको एउटा कोठामा थन्क्याउने कार्य भएको भन्दै कोइरालाले सरकारले बजेटमा गरेको निर्णयमा आपत्ति जनाएका छन् ।

Published : Saturday, 2023 June 10, 12:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया