एमालेका नेताहरुले झण्डै कुटाइखाएपछि ओली रिसले आगो, प्रतिकार गर्ने धम्की

काठमाडौं । एमालेले कोशी प्रदेशमा सत्तारुढ दलका नेता कार्यकर्ताले विभिन्न आन्दोलनको नाममा आफ्ना नेता कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाएको छ ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले कोशी प्रदेशको नामको विरोधमा सडकमा उत्रिएका सत्तारुढ दलका नेता कार्यकर्ताले एमालेका नेताहरुमाथि आक्रमण गरेको बताए । उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले सदनमा आएर कोशी प्रदेशमा सत्तारुढ दलका कार्यकर्ताबाट भएको आक्रमणको बारेमा जानकारी दिनुपर्ने बताए ।

उता, उदयपुरमा कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईविरुद्ध प्रदर्शन भएको छ ।

बिहीबार उदयपुरको गाईघाटमा एमालेका नेता समेत रहेका दनुवार र राईविरुद्ध कोशी प्रदेश नामाकरणको विरोधमा सडकमा उत्रिएका प्रदर्शनकारीले प्रदर्शन गरेका हुन् ।

राई र दनुवार गाईघाटमा रहेको सर्पदंश उपचार केन्द्रमा पोर्टेबल भेन्टिलेटर सुरू गर्नेबारेको कार्यक्रम सकेर गाईघाट बजारतर्फ जाने क्रममा उनीहरूविरुद्ध प्रदर्शन भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको अनुगमनपछि प्रदेशस्वास्थ्यमन्त्री तीलकुमार मेन्याङ्बो, उपसभामुख सृजना दनुवार, प्रदेश स्वास्थ्य सचिव डा.सुधा देवकोटासहितको टोली भुल्केस्थित १८ नम्बर बाहिनीमा रहेको सर्पदंश उपचार केन्द्रमा पुगेको थियो ।
कार्यक्रम सकेर मन्त्री मेन्याङ्बो र सचिव देवकोटा बोल्टारको बाटो हुँदै विराटनगर फर्किए भने उपसभामुख दनुवार सहित त्रियुगा नगरपालिकाकी उपप्रमुख राई गाईघाटतर्फ लागेका थिए ।

फर्किने क्रममा काठ लोड गरेको ट्याक्टरले सडक अवरुद्ध गरेर गाडी रोकिएको अवस्थामा आक्रमण प्रयास गरेका थिए । उनीहरूले त्रियुगा नगरपालिकाका उपप्रमुख राईको गाडीमा पूर्णरूपमा क्षति पुर्‍याएका छन् । उपसभामुख दनुवारको गाडीको पछिल्लो भाग कुच्चिएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले केही मोटरसाइकलमा आएका व्यक्तिहरूले आक्रमण गरेको पुष्टि गरेका छन् । घटनामा उपप्रमुखको गाडीमा बढी क्षति भएको भन्ने जानकारीमा आएको प्रजिअ गौतमले बताएका छन् ।

एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानालाई इलाममा केही युवाहरूले अभद्र व्यवहार गरेका छन् । इलामबाट विराटनगरतर्फ आउने क्रममा बाटोमा मुढा तेर्‍याएर उनी चढेको गाडी रोकेर रानालाई लक्षित गरी मोबिल प्रहार गरेका हुन् ।

इलामको इलाम नगरपालिका वडा नम्बर ११ सोयाक भन्ज्याङमा भेला भएर बसेका ४–५ जनाको समूहले बाटोमा मुढा तेर्‍याएर उनलाई लक्षित गरी अभद्र व्यवहार गरेको एमालेको आरोप छ ।

उनीसहित ३ जना सवार गाडी बिर्तामोडतर्फ आउने क्रममा रहेको थियो । उनीहरूले बाटो छेकेपछि आफू त्यहाँबाट फर्किएर इलाम बजार आएको रानाले बताएका छन् ।

यता, एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले कोशी प्रदेशमा पार्टीका नेता–कार्यकर्तालक्षित आक्रमण भएको भन्दै प्रतिवादमा उत्रन चेतावनी दिएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय ललितपुरमा आयोजित कार्यक्रममा कार्यकर्ताहरूको रक्षा आफैंले गर्नुपर्ने परिस्थिति आएको बताएका छन् । उनले प्रदेश सभा सदस्य राम रानालाई इलाममा मोबिल छर्केर आगो लगाउने प्रयास गरिएको बताएका छन् ।

ओलीले भने, ‘मोबिल छर्केर आगो लगाउनेसम्मको हर्कत यो राजनीति हो ? अब एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था भयो । सरकारले यो गराइराख्या छ भने एमाले चुप लागेर बस्न सक्दैन । हाम्रा कार्यकर्ताहरूको रक्षा हामी आफैंले गर्नुपर्छ भने तयारी गर्नुपर्छ ।’

अध्यक्ष ओलीले कोशी प्रदेशमा भइरहेको आन्दोलनलाई सरकारकै संरक्षण रहेको दाबी गरेका छन् । उनले भने, ‘प्रचण्ड सरकारले प्रोत्साहित गरेको छ, संरक्षण गरेको छ । यसको जवाफ दिनुपर्ने बेला आइसक्योजस्तो लाग्छ ।’

उनले भने, ‘अस्ति म जाँदाखेरी ढुंगामुढा गरे । सरकारले केही गरेन। प्रहरीको टाउको फुट्यो, टाउको कुच्चियो । सबै हुँदा पनि प्रहरीलाई केही नगर्नु भनेको छ ।’

Published : Thursday, 2023 June 8, 4:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया