पूर्व नासु श्रेष्ठलाई विष्णु पौडेलले नियुक्त गरेको खुलासा, खतिवडाले खोले कम्युनिस्टको खोल

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहिर खतिवडाले अर्थ मन्त्रालयका अवकास प्राप्त नायब सुब्बा रामकृष्ण श्रेष्ठलाई कसको स्वार्थमा पुनः नियुक्ति गरिएको भनेर प्रश्न उठाएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै खतिवडाले अर्थ मन्त्रालयका पूर्व नायब सुब्बा रामकृष्ण श्रेष्ठलाई अर्थ मन्त्रालयमा कसले ? किन ? नियुक्त गरिएको भनेर अर्थमन्त्री डा.प्रकाशशरण महतसँग जवाफ माग गरेका हुन् । श्रेष्ठले बजेटलाई टाइप गरेको र करको दर रेट चुहाएको भनेर हँगामा भइरहेका बेला कांग्रेसका सांसद खतिवडाले श्रेष्ठलाई नियुक्ति गर्ने अर्थमन्त्री र सरकारको बारेमा खोजविन गरेका छन् ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले पूर्व नायब सुब्बा श्रेष्ठलाई अर्थ मन्त्रालयमा बेरुजु विशेषज्ञका रुपमा नियुक्ति गरेको खुलेको छ । एमालेका नेता समेत रहेका पौडेलले कसको स्वार्थमा श्रेष्ठलाई नियुक्त गरेर अर्थ मन्त्रालयभित्रको सूचनाहरु चुहाएका हुन् खोजीको विषय बनेको छ । त्यस बेला अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयको सचिवमा तोयम रायलाई नियुक्त गरेका थिए । अर्थ सचिव राय र अर्थमन्त्री पौडेलको रोजाइमा पूर्व नायब सुब्बा श्रेष्ठलाई अर्थ मन्त्रालयमा नियुक्त गरेर ल्याइएको थियो ।

कांग्रेसका सांसद खतिवडाले भने, ‘अर्थमन्त्रालयमा एक जना कर्मचारी रामकृष्ण श्रेष्ठलाई २०७९ साल फागुन १९ गतेका दिन नेपाल सरकारले निर्णय गरेर नियुक्ति गरेको देखिन्छ ।’

‘त्यतिखेर अर्थ मन्त्री को थियो ? सचिव को थिए ? दुई वर्ष अगाडि रिटार्यड भएका कर्मचारीलाई त्यहाँ नियुक्ति गर्नुपर्ने जरुरी के पर्‍यो ?’, खतिवडाले प्रश्न गर्दै भनेका छन् ।

‘दुई वर्ष अगाडि अवकास पाक्यो । २०७८ साल फागुन २५ गतेदेखि लागू हुने गरि उसको म्याद २०८० साल असार मसान्तसम्म रहने गरि महिनाको ३४ हजार ४ सय ३० रुपियाँ तलब पाउने गरि नियुक्ति गरिएको छ’, सांसद खतिवडाले भने, ‘त्यो कसको इन्ट्रेस्टमा किन नियुक्ति गरिएको छ ? त्यसको जानकारी म अर्थमन्त्रीसँग माग्न चाहन्छु ।’

कांग्रेसका सांसद खतिवडाले भने, ‘बेरुजु विशेषज्ञको रुपमा उसलाई नियुक्ति गरिएको छ । बेरुजु विशेषज्ञको रुपमा नियुक्ति गर्दा उहाँलाई कार्यक्षेत्र चालु आर्थिक प्रकाशन, परिचयपत्र संग्राहलय अद्याबधि गरि छापाखाना पठाउने, भन्सारको छुटको प्रभाव अध्ययन गर्न तथ्याङ्क संकलन गर्न तथा विश्लेषण गर्ने अधिकार दिइएको छ ।’

‘आर्थिक ऐन २०८० को तर्जुमा गर्न र प्रारम्भीक मस्यौदा तयार गर्न भन्सारको उपसचिवको नेतृत्वमा रायसुझाव संकलन कार्य गर्ने अधिकार दिएर तत्कालीन अवस्थामा केका लागि नियुक्ति गरियो ? र कसले नियुक्ति गरियो ? अर्थमन्त्रीलाई जवाफ दिन आग्रह गर्छु’, खतिवडाले भनेका छन् ।

‘पहिलो पक्ष घनश्याम तिमिल्सिना भन्ने मान्छे भन्सार विभागको शाखा अधिकृत र दोस्रो पक्ष रामकृष्ण श्रेष्ठ जो ललितपुर महानगरपालिका वडा नं. १३ कुसुन्ती बस्ने बीच सहमति भएको देखिन्छ । यो अवस्थामा कतिपय कुराहरु यहाँ आएका छन्’, खतिवडाले भनेका छन् ।

‘केका लागि कसले किन नियुक्ति गरियो ? र कसको पालमा नियुक्ति गरियो ? यसलाई निरन्तरता दिनुपर्ने कार्य के हो ? त्यसको जवाफ अर्थमन्त्रीबाट जान्न चाहन्छु’, कांग्रेसका सांसद खतिवडाले भनेका छन् ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८० ८१ को बजेट निकै राम्रो र सुधारात्मक ल्याएका छन् । कम्युनिस्टले मुलुकको धरासायी बनाएको अर्थतन्त्रलाई डा.महतले ल्याएको बजेटले माथि उकास्ने प्रयास गरिरहेको छ । त्यो बेला डा.महत र नयाँ बजेटमाथि निकै प्रहार भएको छ ।

एमाले र सरकारले राम्रो काम गरेको देख्न नचाहने तत्वले अर्थमन्त्री डा.महतविरुद्ध फेक समाचार लेखाइरहेका बेला कांग्रेसका सांसद खतिवडाले सत्य कुरा बाहिर ल्याइदिएका छन् ।

Published : Tuesday, 2023 June 6, 4:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया