मुख्यमन्त्री चौधरी समक्ष बुझाए राप्ती– ३ का वडाध्यक्ष अधिकारीले दर्जन योजनाहरू

मसुरिया । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग दाङको राप्ती गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष उमेश अधिकारीले आफ्नो वडाका लागि दर्जन योजनाहरू माग गरेका छन् ।

लुम्बिनी प्रदेशको राजधानी मसुरियास्थित मुख्यमन्त्रीको कार्यालयमा मुख्यमन्त्री चौधरीसँग भेट गरेर वडाध्यक्ष अधिकारीले ‘सानो नदी’मा पुलसहितका योजना माग गरेका हुन् । उनले मसुरियादेखि खुरुरिया जोड्न बाटो अन्तर्गत सानो नदीमा पक्की पुल नभएका कारण सर्वसाधारणले समस्या र जोखिम मोल्नु परेको भन्दै पक्की पुलको माग गरिएको बताएका छन् ।

मुख्यमन्त्री चौधरीले वडाध्यक्ष अधिकारीले पेश गरेका अधिकांश योजनाहरूलाई समेट्ने आश्वासन दिएका छन् । चौधरीले अर्थिक अभावका कारण सबै योजनाहरू नपरे पनि केही कार्यक्रम दिने प्रतिवद्धता जनाएका छन् ।

वडाध्यक्ष अधिकारीले भने, ‘मैले वडा नं. ३ का लागि करीव १५ वटा योजना पेश गरेको छु । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीज्यूले मुख्य–मुख्य योजना यस पटक हालिदिने र अन्य योजनाहरू क्रमश: पूरा गर्दै जाने आश्वासन दिनुभएको छ ।’

वडाध्यक्ष अधिकारीले लुम्बिनी प्रदेशको राजधानी आफ्नो वडामा पर्ने भएको र सबैको नजर रहेका कारण पनि मुख्यमन्त्री चौधरीसँग योजनाको माग गरिएको बताएका छन् । उनले लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिकाको वडा नं. ३ मसुरियामा पर्ने भएका कारण प्रदेश सरकारको लेटरप्याडमा मसुरिया लेख्न पनि आग्रह गरिएको बताएका छन् ।

वडाध्यक्ष अधिकारीले मुख्यमन्त्री चौधरीसँग सानो नदीमा पुल, खेलकुदका लागि कभर्ड हल निर्माण, मसुरिया स्वास्थ्य क्लिनिकको लागि भवन निर्माण, घण्टदेव बनमा रिचार्ज पोखरी निर्माण, महेन्द्र राजमार्गदेखि प्रगतिटोली जाने बाटो पक्की, वडा नं. ४ देखि पैसठ्ठी नम्बर जाने बाटो पक्की, बसन्तपुर–दामोदर रोडदेखि बहीसम्मको बाटो पक्कीको माग गरिएको बताएका छन् ।

बसन्तपुरको सईजरल्याण्ड पार्क निर्माण, थारु जातीको कला तथा संस्कृति जगेर्नाको थारु फुड फेस्टिभल, खुरुरियाको नेपालको दोस्रो लामो झोलुङ्गे पुलमा लाइटिनिङ तथा सौन्दर्यको लागि बजेट माग गरिएको वडाध्यक्ष अधिकारीले बताएका छन् ।

वडाध्यक्ष अधिकारीले आफ्ना मागलाई लिएर प्रदेश योजना आयोग, लुम्बिनी प्रदेशका उपाध्यक्ष डा.नहकुल केसीलाई भेट गरेर पनि योजनामा पार्न भूमिका खेल्न अनुरोध गरेका छन् ।

वडाध्यक्ष अध्यक्ष अधिकारीले स्वास्थ्यमन्त्री राजु खनालसँग पनि भेट गरेर मसुरिया स्वास्थ्य क्लिनिकको भवन निर्माणका लागि आवश्यक बजेटको माग गरेका छन् । स्वास्थ्यमन्त्री खनालले भवन निर्माणका लागि सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।

Published : Thursday, 2023 June 1, 9:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया