अस्पतालहरूमा शय्या उपलब्धताबारे वेबसाइटमा राख्न मन्त्री बस्नेतको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरूमा शय्या उपलब्धताको स्थिति वेबसाइटमार्फत सार्वजनिक गर्न अस्पतालहरूलाई निर्देशन दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बस्नेतले अस्पतालहरूमा आईसीयू, इमर्जेन्सी वा सीसीयू बेडहरू के–कति छन् र कति खाली छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको बताएका छन् ।

उनले भने, ‘कुन अस्पतालमा आईसीयू बेड छ ? इमर्जेन्सी बेड छ, वा सीसीयू बेड छ ? खाली छ वा छैन, छ भने कति छ ? बिरामीहरूलाई भ्रम हुन थाल्यो ।’

‘ठूला मान्छेले फोन गरेपछि बेड पाइन्छ भन्ने मानसिकता हुन थाल्यो’, मन्त्री बस्नेतले भने, ‘गरिबहरू जाँदाखेरि नपाउने भन्ने हुन थाल्यो ।’

उनले भने, ‘त्यसैले मैले देशभरका अस्पतालहरुमा के छ अवस्था वेबसाइटमा राखेर सबैलाई क्लियर गर्नु भनेर निर्देशन दिएको छु ।’

अस्पतालहरूमा बहिरंग सेवा (ओपीडी) टिकट पनि अनलाइन प्रणालीमार्फत लिन सकिने व्यवस्था गरेको मन्त्री बस्नेतले बताएका छन् ।

‘ओपिडी अनलाइन टिकट बुक गर्ने प्रक्रिया अगाडि बढाउन भनेको छु’, उनले भने, ‘प्रक्रिया सुरु हुन थालेको छ ।’
उनले भने, ‘अनलाइन र फिजिकल्ली दुईवटै किसिमले टिकट पाउनसक्छौँ अहिले ।’

मन्त्री बस्नेतले संसारभर सुर्तीजन्य पदार्थमा सबभन्दा कम कर लिने मुलुक नेपाल भएको भन्दै सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने बताएका छन् ।

Published : Wednesday, 2023 May 31, 11:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया