नागरिकता विधेयकलाई लिएर रास्वपाका सभापति लामिछाने र सांसद झाबीच मतभेद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रतिनिधि सभाका सांसद मनीष झाबीच नागरिकता विधेयकलाई लिएर मतभेद देखिएको छ ।

सरकारको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक स्वीकृत गरेपछि सभापति लामिछानेले विरोध गरेका छन् । रास्वपाका सांसद झाले विधेयकको स्वागत गरेका छन् ।

सांसद झाले ट्वीट गर्दै भनेका छन्, ‘अनागरिक हुनु भनेको सबैभन्दा पिडादायक अवस्था हो, नागरिकता विधेयक सधैँ अड्काएर राख्नुले धेरैको लागी जटिल समस्या सृजना भइरहेको छ । यो अनन्तकालसम्म अकडाउनु राम्रो हैन ।’

‘तर, नयाँ जनादेशबाट नयाँ संसद् बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरीत, लोकतान्त्रिक संसदीय मूल्य मान्यताविरुद्ध छ’, सांसद झाले भनेका छन् ।

सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरित, लोकतान्त्रिक संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध छ ।’

सांसद झाले नागरिकता विधेयकको स्वागत गरेपछि सभापति लामिछाने दोधारमा परेका छन् । लामिछाने र झाबीच पहिलो पटक विधेयकलाई लिएर मनमुटाव देखिएको छ ।

नागरिकता विधेयक स्वीकृत भएपछि विदेशी आमा–बुबाका सन्तानले जन्मसिद्ध आधारमा नेपाली नागरिकता पाउनेछन् । आमाको नामबाट पनि नागरिता पाइनेछ ।

नागरिकता विधेयकको विरोध भइरहेको छ । विधेयकका कारण भारतीय नागरिकले अबैध रुपमा नागरिकता लिने आशंका बढेको छ । यो नागरिकता विधेयकले दीर्घकालीन रुपमा नेपालमा भारतीय नागरिकहरूको बर्चश्व हुने चर्चा छ ।

Published : Wednesday, 2023 May 31, 4:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया