पाँच बैंक डुबाउन लागेको होङ्सी सिमेन्टभित्रको कालो कथा, मालिकबीच झगडा, कामदारले पाएनन् तलब

काठमाडौं । ४५ वर्ष अघि(सन १९७५) चोभारमा पहिलो पटक हिमाल सिमेन्ट कारखानाबाट सुरु भएको थियो ।

अहिलेसम्म आउँदा नेपालमा सिमेन्टसम्बन्धी १२४ उद्योग दर्ता भएका छन् । तीमध्य७२ प्लान्टसहित कुल दुई खर्बको लगानी र वार्षिक दुई करोड टन उत्पादन क्षमता भएका छन् ।

सरकारी तथ्यांकअनुसार स्वदेशमै उत्पादन भएका सिमेन्टमा आत्मनिर्भर भएको सरकारको तथ्यांकले उल्लेख गरेको छ ।

सिमेन्टका ठूला २१ उद्योगले मात्र देशको ४६ स्थानबाट १२ लाख टन चुन ढुङ्गा उत्खनन् गर्छन् । एक सर्वेक्षणका अनुसार नेपालमा १०० वर्षलाई पुग्ने चुन ढुङ्गाखानी छन् ।

नेपालको प्रतिव्यक्ति सिमेन्ट उपभोग दर ३०३ किलो छ । भारतको १९५ किलो, चीनको १७१६ किलो, भुटानको ७३४ किलो छ । सन् २०२५ सम्ममा नेपालको आन्तरिक माग २.५८ करोड टन पुग्ने अनुमान छ ।

आठ वर्षमा १५० अर्बको कारोबार भएको सिमेन्ट उद्योगले जम्मा २.८४ अर्ब मात्र राजश्वमा सहयोग गरेका छन् ।

सिमेन्ट उद्योगहरूले प्राकृतिकश्रोतको अत्याधिक दोहन, बस्ती विस्थापन, कामदार तथा स्थानीयको सुरक्षा साथै माटो, वायु र जल प्रदुषणलगायतले समस्या निम्त्याएका छन् ।

चुरेका कमजोर पहाडहरू उत्खननका कारण भूक्ष्य बढेको छ । सन् २०२१ मा नेपाल राष्ट्र बैकले गरेको सर्वेक्षणमा ९२ प्रतिशत स्थानीय समुदाय सिमेन्ट उद्योगका कारण जल, वायु, माटो र ध्वनी प्रदुषण अत्याधिक मात्रामा बढेका कारण जीवनयापनमा ठूलो संकट खेपिरहेका छन् ।

नेपालले सन् २०५० सम्मा कार्वन उत्सर्जन शून्य बनाउने भनि गरेको प्रतिवद्धता विपरीत कार्वन फुटप्रिन्टलाई बढावा दिएको छ ।
एकातिर अत्याधिक वातावरणीय क्षति पुर्‍याएका सिमेन्ट उद्योगले अर्कोतर्फ अत्यन्तै न्यून रोयल्टी तिर्छन् ।

नेपालमा एक टन चुन ढुङ्गाको ६० रुपियाँ रोयल्टी पर्दछ । भरतमा १४० रुपियाँ छ । भारतमा प्रतिबोरा सिमेन्टमा ४५०, चीनमा ३५०, बंगलादेशमा ३००, पाकिस्तानमा ३५० र नेपालमा ७५० पर्छ ।

नेपालमा सस्तो कर तथा उच्च नाफा हुने भएको भन्दै अहिले चीनका दुई ठूला कम्पनीहरू होङ्सी र ह्वासिनले लगानी गरेका छन् ।

सन् २०१५ मा स्थापित होङ्सी सिमेन्टले ३५० मिलियन डलर लगानी गरेको छ । गोलम्यान स्याकको २५ प्रतिशत स्वामित्व रहेको होङ्सी सिमेन्ट(हङ्कङ रेडरायन सिमेन्ट)ले नेपालबाहेक चीन र लावसमा पनि लगानी गरेको छ ।

२० लाख टन क्लिंकर र २३ लाख टन सिमेन्ट उत्पादनको वार्षिक क्षमता भएको होङ्सी उद्योगले नवलपरासीको बेनीमनिपुर गाउँपालिका सर्दिमा उद्योग स्थापना गरेको छ ।

सन् २०२२ मा कुल १७ अर्ब ४ करोड र सन् २०२१ मा १७ अर्ब ४५ करोड आम्दानी गरेको कम्पनीको क्लिंकर व्यापारको ४७ प्रतिशत र सिमेन्टको ५३ प्रतिशत हिस्सा छ ।

कुल सिमेन्ट उद्योगमध्ये २० वटा उद्योगले क्लिंकर उत्पादन गर्दछ जसमध्ये सिमेन्ट र क्लिंकरको सबैभन्दा ठूलो होङ्सी सिमेन्ट हो ।

नेपालमा शिवम सिमेन्ट र यसका प्रमोटरहरू विश्वनाथ गोयल र विजय दुगडसँग मिलेर स्थापना भएको होङ्सी सिमेन्टले हाल अम्बुजा ग्रुपअन्र्तगको दाङ सिमेन्ट पनि खरिद गरेको छ ।

शिवम् सिमेन्टको स्थानीय शारदा ग्रुपका शिवरत्न शारदाको ३० प्रतिशत र हङ्कङ रेडलायनको ७० प्रतिशत लगानी भएको यो कम्पनीले दाङ सिमेन्ट १५ अर्बमा खरिद गरेको हो ।

जसमा होङ्सी सिमेन्टको ८५ प्रतिशत र शिवमको १५ प्रतिशत लगानी रहेको छ ।

स्थापना भएको दुई वर्षपछि सन् २०१७ मात्र प्रारम्भीक वातावरणीय मूल्याङ्कन स्वीकृत लिएपछि विवादमुक्त रहनभने सकेको छैन ।

होङ्सी सिमेन्टमा कामदारको मृत्युदेखि दाङ र पाल्पाका स्थानीय समुदायले वातावरण प्रदुषित भएकोमा व्यापक विरोध प्रदर्शनी, मकवानपुरका स्थानीयहरूले शिवमविरुद्ध गरेको प्रदर्शनी तथा ट्रकमा भएको शंकास्पद आगलागी आदिले अन्य तथ्यहरू पनि बाहिर ल्याएको छ ।

नियमनकारी नेपाल गुणस्तर तथा नाप तौल विभागले आवश्यकभन्दा ज्यादा ५ प्रतिशत म्याग्नेसियम अक्साइड प्रयोग गरेर गुणस्तरमा खेलवाड गरेको दावीसहित कारवाहीको प्रकृया अगाडि बढाएको छ ।

दैनिक ६ हजार मेट्रिक टन उत्पादन गरिरहेको र १२ हजार मेट्रिक टन उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । तर, विवादमुक्त हुन भने सकिरहेको छैन ।

आफ्नै सेयरधनी शिवम् सिमेन्ट समूहले बैठक बहिस्कार समेत गरेको छ । लगानीकर्ताहरू चिनियाँपक्षको एकपक्षीय र मनोमानी निर्णयका कारण संचालक समितिमा आउन छाडेका हुन् । कम्पनीले मूल्य बढाउनु पर्ने समयमा घटाएर बिक्री गरेका कारण कर्मचारीहरूलाई पारिश्रमिक (तलब) दिन सकिरहेको छैन ।

होङ्सीले कम्पनीमा कार्यरत कर्मचारीहरूलाई विगत ६ महिनादेखि पारिश्रमिक उपलब्ध नगराएको त्यहाँ कार्यरत कर्मचारीहरू बताउँछन् ।

ट्रकका चालकहरूलाई पनि तलब भुक्तानी नपाएको त्यति नै समय भएको छ । पारिश्रमिक नपाएपछि अहिले कर्मचारीहरू आन्दलनमा उत्रिएका छन् ।

कम्पनीमा ५१९ कर्मचारीमध्ये उच्च पदका ११८ जना चिनियाँमूलका छन् । ४०१ जनामात्रै नेपालीमूलका कर्मचारी छन् । त्यसमा पनि प्रमुख तहमा सबै चिनियाँमूलका कर्मचारी रहेका छन् ।

स्थापनाको समयमा उद्योग तथा खानी वरपरको वातावरणिक स्वास्थ्यमा प्रतिकुल हुन नदिने, स्वास्थ्य, कृषि क्षेत्र तथा पर्यटन लगायतका क्षेत्रहरूमा आवश्यक लगानी गरि सुविधा दिने लगायतको विषयमा सहमति भएको थियो ।

अहिले त्यसप्रति उद्योगले कुनै सरोकार नराख्दा प्रदुषणको मात्रा अत्याधिक रूपमा बढेको भन्दै स्थानीयहरू विरोध गरिरहेका छन । खानी भएको स्थानबाट विस्थापितहरूलाई उचित व्यवस्थापन गर्न नसकेको भन्दै विरोध भइरहेको छ ।

होङ्सी शिवम् सिमेन्ट कम्पनीले पाँच बैकहरूबाट १४०.५ मिलियन डलर ऋण लिएको छ । एनएमबी बैंकको नेतृत्वमा नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु बैंक, एभ्रेष्ट बैंक र एसबिआई बैंकको लगानी कम्पनीमा छ । अहिले कम्पनी संकट आएसँगै आफ्नो लगानी कसरी सुरक्षा गर्ने भन्ने विषयमा बैंकहरूले दबाब दिइरहेका छन् ।

नेपालमा चलेका सिमेन्ट उद्योगहरूमध्य १२/१३ सिमेन्ट उद्योगहरूले क्लिंकर उत्पादन गर्छन् । उनीहरूको क्लिंकर क्षमता ३ हजार टन हो । भारतबाट ल्याउने क्लिंकरको ढुवानी भाडा मात्रै नेपाली उद्योगहरूबाट लिएको मूल्यभन्दा एक हजार बढी पर्ने सम्बन्धीत व्यक्तिहरू बताउँछन् ।

होङ्सी सिमेन्ट नेपालको सबैभन्दा ठूलो क्लिंकर उत्पादक हो । होङ्सीले नेपालका २९ सिमेन्ट उद्योगहरूलाई क्लिंकर बिक्री गर्दछ । तर, पछिल्लो समय क्लिंकर आपूर्तिका लागि कन्भेयर वेल्ट निर्माणमा उद्योगलाई समस्या हुँदा होङ्सीमा निर्भर अन्य सिमेन्ट उद्योगलाई पनि समस्या पर्ने देखिन्छ ।

यसबारेमा प्रतिक्रिया लिन होङ्सीको चाइनिज पक्षसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । अन्य कर्मचारीहरू बोल्न अस्वीकार गरेका छन् ।

Published : Wednesday, 2023 May 31, 3:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया