आईपिएलको फाइन कसले जित्यो ?

मुम्बई । चेन्नई सुपरकिंग्सले आइपिएल २०२३ को उपाधि जितेको छ । रविन्द्र जडेजाले अन्तिम बलमा चौका प्रहार गरेपछि चेन्नईले उपाधि हात पारेको हो ।

मंगलबार बिहान सकिएको खेलमा चेन्नईले गुजरात टाइटन्सलाई डिएलएस मेथडमा ५ विकेटले पराजित गर्दै उपाधि जितेको छ ।

दशौं पटक आइपिएलको फाइनल खेलेको चेन्नईको यो पाँचौ उपाधि हो ।

अहमदावादमा वर्षाले प्रभावित भएको खेलमा चेन्नईले १५ ओभरमा १७१ रनको लक्ष्य पाएको थियो । जुन लक्ष्य चेन्नईले अन्तिम बलमा ५ विकेटको क्षतिमा पूरा ग¥यो ।

चेन्नईका लागि ओपनरद्वय ऋतुराज गायकवाडले १६ बलमा २६ रन र डेवन कनवेले २५ बलमा ४७ रन जोडेका थिए ।

अजिन्का राहाणे २७ रन, अम्बाती रायदु १९ र कप्तान महेन्द्रसिंह धोनी शून्यमा आउट भएका थिए । शिवम् दुवेले नटआउट ३२ रन र जडेजाले नटआउट १५ रन जोडेका छन् ।

अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएको चेन्नईका लागि दुवे र जडेजाले चार बलसम्म ३ रन मात्र जोडेका थिए ।

पाँचौ बलमा जडेजाले गुजरातका मोहित शर्मालाई छक्का प्रहार गरेका थिए । जितका लागि अन्तिम बलमा चौका चाहिएको थियो । जडेजाले चौका नै प्रहार गर्दै चेन्नईलाई च्याम्पियन बनाएका छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेटको क्षतिमा २१४ रन जोडेको थियो । गुजरातका लागि साई सुदर्शनले ९६ रन जोडेका थिए । सुदर्शनले ४७ बलमा ८ चौका र ६ छक्का हिर्काएका थिए ।

ऋद्धिमान साहले ५४ रन र शुभमन गिलले ३९ रन जोडेका थिए । बलिङमा चेन्नईका मथीशाले दुई विकेट लिएका छन् ।

उपविजेतामै सीमित बनेको गुजरातका गिल प्लेयर अफ दि सिरिज भएका छन् । गिलले प्रतियोगिताभर सर्वाधिक रन ८९० रन जोडेका थिए ।

Published : Tuesday, 2023 May 30, 7:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया