एमालेले बबाल गरेपछि अभिलेखबाटै हटाइयो

काठमाडौं । केही सांसदहरुले एमालेलाई भ्रष्टाचारको आरोप लगाएपछि त्यो विषयले संसदभित्र बबाल मच्चाएको छ ।

एमालेले आफूलाई भ्रष्टाचारी भनेको भनेर विरोध गरेपछि भ्रष्टाचारको आरोप लगाइएका शब्दहरु रेकर्डबाट हटाइएको छ । भ्रष्टाचारी भनेको विरोधमा एमालेले संसद अबरोध नै गर्न पुगेको थियो ।

कोरोना भाइरस महामारीको समयमा स्वास्थ्य सामग्री खरिद गर्दा दुई अर्बको भ्रष्टाचार भएको र पशुपतिको जलहरीमा सुन भनेर पित्तल लगाएको भनी माओवादी केन्द्रका सांसदले आरोप लगाएका थिए । माओवादी सांसदको त्यो अभिव्यक्तिलाई संघीय संसदको अभिलेखबाट हटाइएको छ ।

शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले माओवादी सांसद लेखनाथ दाहालले बोलेका ती शब्द हटाउन निर्देशन दिएका हुन् । घिमिरे एमालेबाट सभामुख बनेका हुन् । घिमिरेले एमालेको पक्षमा काम गर्दै आएको आरोप छ ।

‘स्वास्थ्य सामग्रीमा दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथमा जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरु भन्ने शब्द संसदको अभिलेखबाट हटाउन निर्देश गर्दछु’, सभामुख घिमिरेले भनेका छन् ।

गत जेठ १० गते प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार भएका बेला भ्रष्टाचारका अनेक काण्ड भएको आरोप लगाएका थिए ।

दाहालले भनेका थिए, ‘उहाँ (केपी शर्मा ओली) सरकारमा बस्दा कति भ्रष्टाचारका काण्डहरु आए ? यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार । त्यति मात्रै होइन, पशुपतिनाथमा जलहरी लाउँदा सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचारहरु । यस्ता सयौं, हजारौं भ्रष्टाचारका काण्डहरु छन् ।’

दाहालको यो अभिव्यक्तिबाट ‘स्वास्थ्य सामग्रीमा दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथमा जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरु’ भन्ने शब्द संसदको अभिलेखबाट हटाइएको हो ।

एमालेले प्रमुख प्रतिपक्षी दलको नेतालाई आरोप लगाइएको भन्दै यो शब्द हटाउन र माफी माग्न माग गर्दै शुक्रबार प्रतिनिधिसभाको बैठक चल्न दिएको थिएन ।

शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीसमेत सहभागी प्रमुख तीन दलका प्रमुख सचेतकहरु समेतको बैठकमा ओलीमाथि लगाइएको आरोप सम्बन्धी शब्द हटाउने सहमति भएको थियो । सोही सहमति अनुसार सभामुख देवराज घिमिरेले ती शब्दहरु संसदको रेकर्डबाट मेटाउन निर्देशन दिएका हुन् ।

Published : Sunday, 2023 May 28, 6:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया