प्रचण्डको भारत भ्रमणको मिति तय, के के छन् कार्यक्रम ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जेठ १७ गतेदेखि भारतको भ्रमण गर्ने भएका छन् ।

शनिबार भारतीय राजदूतावासद्धारा जारी विज्ञप्तिअनुसार दाहालले यही जेठ १७ देखि जेठ २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्नेछन् । २०७९ पौषमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछिको नेपालका प्रधानमन्त्रीको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हुनेछ । प्रधानमन्त्रीसँगै उच्चस्तरिय प्रतिनिधिमण्डल पनि भारत भ्रमणमा सहभागी हुनेछ ।

भ्रमणका क्रममा नेपालका प्रधानमन्त्रीले भारतका राष्ट्रपति तथा उप–राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै भारत र नेपालबीचको द्विपक्षीय साझेदारीका विविध क्षेत्रका बारेमा भारतीय प्रधानमन्त्रीसँग गहन छलफल गर्ने विज्ञप्तिमा उल्लेख छ ।

भारतका अन्य विशिष्ट व्यक्तिहरुले पनि नेपालका प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने भारतीय राजदूतावासले जनाएको छ ।

यसका अलावा भारत भ्रमणका दौरान नेपालका प्रधानमन्त्री दाहालले उज्जैन र इन्दौरको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

‘यो भ्रमणले हाम्रो ‘छिमेकी पहिलो’ नीतिलाई अघि बढाउन हेतु भारत र नेपालबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘दुई देशबीचको द्विपक्षीय सम्बन्ध विगत केही वर्षमा सहकार्यका सबै क्षेत्रमा उल्लेखनीय रुपमा सुदृढ भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘द्विपक्षीय साझेदारीलाई थप गति प्रदान गर्न दुवै पक्षले एक अर्कालाई दिएको महत्वलाई यस भ्रमणले विशेष जोड दिएको छ ।’

Published : Saturday, 2023 May 27, 10:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया