महासंघद्वारा २० जना कलाकर्मीलाई सम्मान, कांग्रेसका नेताहरू सहभागी

काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति समेत रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कलाकर्मीको महत्वलाई बुझेको बताएका छन् ।

बुधवार नेपाल सांस्कृतिक महासंघको १८ औँ स्थापना दिवस एवम् राष्ट्रिय प्रशिक्षण भेला तथा चित्रकला कार्यशाला उद्घाटनमा गुरुङले कांग्रेसको भ्रातृ संगठनहरूमध्ये पार्टीलाई ऊर्जाशील बनाउन सक्ने संस्था सांस्कृतिक महासंघ भएको बताए ।

नेता शेखर कोइरालाले सांस्कृतिक महासंघले युवामुखी कार्यक्रममा जोड दिनुपर्ने बताएका छन् । उनले भने, ‘नेपाल सांस्कृतिक महासंघले युवालाई आकर्षित गर्ने र उनीहरूको प्राथमिकतामा रहेको काम गर्नुपर्‍यो ।’

नेता कोइरालाले नेपाल सांस्कृतिक महासंघलाई नेपालमा गिरिजाप्रसाद कोइराला बाहेक कसैले चिन्न नसकेको बताएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा, कांग्रेसका बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ, ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठ, सांसद विनोद बान्तवा, शोभाकर पराजुली लगायतले कलाकर्मी र सांस्कृतिक महासंघको महत्व कांग्रेसमा धेरै रहेको बताए ।

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, प्रमोदहरि गुरागाईंले कार्यक्रममा सहभागी कलाकर्मीलाई प्रशिक्षण दिएका छन् ।

कलाकार धनबहादुर याक्खाको नेतृत्वमा ४२ जना कलाकारले प्रत्यक्ष पेन्टिङ गरेर देखाएको कार्यक्रम विभिन्न नृत्य लगायत सांस्कृतिक कार्यक्रमसहित आयोजना भएको थियो ।

कार्यक्रममा २० कलाकर्मीलाई सम्मान समेत गरिएको छ । लोकगायक कस्तुप पन्त, कृष्ण रेउले, कलाकार सुनिल पुरी, राजु श्रेष्ठ, बुद्धिबहादुर राना, गोपाल गुरुङ, गोविन्द कोइराला, टंक विश्वकर्मा, कृष्णकुमार गुरुङ, गणेश सुवेदी, गंगाबहादुर पाण्डे, राधेश्याम राजभण्डारी, सुशील सेवा, बेदमणि अधिकारी, वीरेन्द्र यादव, मदन थापा, जालुमाया गुरुङ, सन्ध्या सानु, सचिन गिरी लगायत रहेका छन् ।

महासंघका सभापति तीर्थ थापाले महासंघप्रति कांग्रेसले हेर्ने दृष्टिकोण सम्मानजनक हुनुपर्ने बताएका छन् ।

कांग्रेसले सांस्कृतिककर्मीलाई प्राथमिकतामा राखेर प्रत्येक पाइलामा साथ लिएर हिँड्नुपर्ने सभापति थापाले बताएका छन् ।

उनले भने, ‘हामी सांस्कृतिककर्मीलाई पनि पार्टीले ठाउँ र अवसर दिनुपर्‍यो । हामी पनि केही गरेर देखाउन सक्छौं ।’

Published : Thursday, 2023 May 25, 2:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया