एमालेका मेयरले १ अर्ब ५० करोड भ्याएर स-परिवार फरार, आलोचना भएपछि बल्ल निलम्बन

काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई एमालेले निलम्बन गरेको छ ।

एमालेको गण्डकी प्रदेश कमिटी सदस्य रहेका मेयर नेपालीलाई प्रदेश कमिटीले निलम्बन गरेको हो । घटनाको निरूपण नहुँदासम्मका लागि नेपालीलाई पार्टीबाट निलम्बन गरेको सचिव धनञ्जय दवाडीले बुधबार जारी गरेको वक्तव्यमा उल्लेख छ ।

बाग्लुङमा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको बचत हिनामिना भएको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति एमाले गण्डकी प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

बचतकर्ताले जिल्ला प्रशासन कार्यालय बाग्लुङमा उजुरी दिएको र संस्थाका पदाधिकारीलाई यात्रा अनुमति रद्द गर्न भनी गृह मन्त्रालयले निर्देशन जारी गरेको तथ्यसमेत जगजाहेर नै छ ।

‘घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष नेपाली र अन्य सबै सञ्चालकलाई बचतकर्ताको सम्पूर्ण रकम शीघ्र फिर्ता गर्न तथा सरकारी निकायबाट अगाडि बढाइएका छानबिनको प्रक्रियामा सहयोग पुयाउन हाम्रो पार्टी सम्बद्ध सबैलाई आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

नेपालीलाई सहकारीका ६ सय बचतकर्ताको करिब एक अर्ब ५० करोड हिनमिना गरेको आरोप लागेको छ ।

एमालेका नेता समेत रहेका मेयर नेपालीसँगै परिवारका सदस्य ५ जेठदेखि सम्पर्कविहीन छन् । जेठ १ गते बाग्लुङबाट बुर्तिबाङ हिँडेका नेपाली स–परिवार सम्पर्कविहीन भएका हुन् ।

बचतकर्ताले प्रशासनमा उजुरी दिएको, अध्यक्ष नेपालीलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाएको र छानबिन अगाडि बढाएकाले छानबिन गर्न निलम्बन गरिएको दवाडीको भनाइ छ ।

मेयर नेपालीले उप–मेयर धनबहादुर कायतलाई कार्यबाहकको पत्र थमाएर सम्पर्कविहीन भएका हुन् । उनलाई अध्यागमन विभागले समेत विदेश यात्रामा रोक लगाइसकेको छ ।

गत निर्वाचनमा नेपाली एमालेबाट दोस्रो पटक ढोरपाटनको मेयर निर्वाचित भएका थिए ।

Published : Thursday, 2023 May 25, 11:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया