एमालेका मेयर जनताको करोडौं खाएर फरार, देवकुमारसहित ७ जना विदेश जान नपाउने

काठमाडौं । सहकारीको करोडौं रुपियाँ ठगी गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर तथा एमालेका नेता देवकुमार नेपालीसहित सात जना विदेश भाग्न सक्ने भन्दै यात्रा अनुमति रद्द भएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङको पत्रअनुसार अध्यागमन विभाग, कालिकास्थान, काठमाडौंले नेपालीसहितका सात जनाको विदेश भ्रमण गर्न नपाउने गरि परिपत्र गरेको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका मेयर नेपाली सम्पर्कविहीन भएका छन् । अध्यक्ष नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर सदस्यहरूको आरोप छ ।

बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीविरुद्ध उजुरी आएको बताएकी छिन् । उनले भनिन्, ‘जिल्ला प्रशासन कार्यालयमा इमेज सहकारीका सेयर सदस्यहरुले मेयर भागेको भन्दै निवेदन लिएर आएपछि हामीले सम्पर्क गर्न खोज्यौं । तर, उहाँ सम्पर्कविहीन हुनुहुन्छ ।’

इलाका प्रहरी कार्यालय बुर्तिबाङमा आर्थिक समस्या भएको कारणले निरन्तर रुपमा मानसिक टर्चर आएको भन्दै मेयर नेपालीले पत्र दिएका थिए ।

पत्रमा मानसिक तनावका कारण केही समय स्वास्थ्य उपचार गर्न बाहिर जानुपर्ने भन्दै मेयर नेपालीले आफ्नो सम्पत्तिको रक्षा गर्न अनुरोध गरेको श्रेष्ठले बताइन् ।

नगरपालिकाका उप–प्रमुख धनबहादुर कायतले आफूलाई कार्यवाहक नगर प्रमुख दिएर मेयर नेपाली सम्पर्कविहीन भएको बताएका छन् ।

विभागले सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली, कार्यबाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्यद्वय रुपा बिक र झबहादुर शाही फरार हुन सक्ने भन्दैै उनीहरू सबैको यात्रा अनुमति रद्द गरेको जनाएको छ ।

मेयर नेपालीका ढोरपाटनमा धेरै काण्डहरू छन् । तिब्बतबाट विवाह गरेका एमालेका नेता समेत रहेका मेयर नेपालीको काठमाडौंको सुकेधाराको चोरमा रहेको प्रहरी बिट नजिकै करीव दुई रोपनी जग्गामा राणा परिवारको जस्तो हवेली (घर) छ । मेयर नेपालीलाई तिब्बती नागरिकहरूलाई नेपाली नागरिकता बनाइदिएर सहयोग गरेको आरोप पनि छ ।

Published : Monday, 2023 May 22, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया