पूर्वजिल्ला सभापति भट्टराईको निधन, देउवाद्वारा दु:ख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस तनहुँका पूर्वसभापति बद्रीहरि भट्टराईको निधन भएको छ ।

बुधबार राति भट्टराईको ७७ वर्षको उमेरमा वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा उपचारका क्रममा निधन भएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भट्टराई तनहुँ जिल्ला नेपाली कांग्रेस व्यास नगर कार्यसमितिका पूर्व सभापति, नेपाल प्रजातन्त्र सेनानी संघका निवर्तमान केन्द्रीय सदस्य एवं पूर्व जिल्ला सभापति हुन् ।

भट्टराई बिक्रम संवत् २०२९ सालमा तरुण आन्दोलनमा गिरफ्तार भई दुई वर्ष जेल जीवन बिताएका थिए । त्यसपछि पनि उनी पटक–पटक गिरफ्तार हुनु भएको थियो । स्वर्गीय भट्टराईले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको सभापति शेरबहादुर देउवाले जनाएका छन् ।

पूर्व जिल्ला सभापति भट्टराईको निधनप्रति सभापति देउवाले गहिरो दु:ख व्यक्त गरेका छन् ।

भट्टराईप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै देउवाले आत्माको चीर शान्तिको कामना गरेका छन् ।

सभापति देउवाले स्व.भट्टराईका शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

Published : Thursday, 2023 May 18, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया