तीन दिनभित्र रमाना दिएका र लिएका कर्मचारीको विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी तीन दिनभित्र मातहतका कार्यालयमा खटाइएका कर्मचारीहरुले रमाना लिएको/दिएको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

एक साताभित्र खटाइएको क्षेत्रको रमाना लिन वा दिन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीको निर्णयअनुसार वैशाख २७ गते मन्त्रालयले सम्बन्धित कार्यालयलाई परिपत्र गरेको थियो ।

सोही परिपत्रको कार्यान्वयनका लागि मन्त्रालयले बुधबार तीन दिनभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

परिपत्रमा भनिएको छ, ‘मन्त्रालय/आयोग/सचिवालय/प्रदेश वा अन्तर्गतका कार्यालयहरू र स्थानीय तहहरूमा सरुवा/पदस्थापना/कामकाज/काजमा खटाइएका र काज फिर्ता गरिएको संघीय निजामती कर्मचारीहरूको रमाना दिए/लिएको विवरण मिति २०८०/०२/०७ गतेभित्र उपपलब्ध गराइदिनुहुन मन्त्रालयको निर्णयअनुसार अनुरोध छ ।’

यसअघिको परिपत्रमा रमाना भई नजाने कर्मचारीलाई उपलव्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुलउपर गर्ने समेत उल्लेख थियो ।

मन्त्री मोदीको निर्णयपछि रमाना नलिई बसेका दर्जनभन्दा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र संघीय कार्यालय मातहतका कर्मचारीहरूले रमाना बुझेका छन् ।

रमाना लिए/दिएका विवरण प्राप्त भएपछि अटेरी गर्नेहरूमाथि अन्य कारबाहीका प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

Published : Wednesday, 2023 May 17, 7:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया