तिनाउको जंगलमा युवकको गलेको अवस्थामा शव, पहिचान गर्न हुलिया सार्वजनिक

काठमाडौं । पाल्पा जिल्लामा अन्दाजी २०/२२ वर्षीय युवकको शव झुम्सास्थित जंगलमा झुण्डिएको अवस्थामा फेला परेको छ ।

तिनाउ गाउँपालिका वडा नं. ३ झुम्सास्थित रहेको फुल्फुले सामुदायिक जंगलमा भरलाको रुखमा झुण्डिएको अवस्थामा नाम, थर, वतन नखुलेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पाँच फिट ६ ईन्च उचाइँ, कालो टिसर्ट, निलो जिन्स, रातो जुत्ता, बायाँ हातमा खैरो रंगको घडी लगाएको अन्दाजी २०/२२ वर्षीय पुरुष व्यक्तिको झुण्डिएको अवस्थामा शव फेला परेको चन्दले बताएका छन् ।

शव सडेगलेको अवस्थामा फेला परेको छ । शवलाई प्रहरीले पाल्ला अस्पताल तानसेनमा राखेको छ ।

प्रहरीले शवको पहिचान गर्न सम्बन्धित पक्ष सबैसँग अनुरोध गरेको छ । प्रहरीले शवलाई वैशाख २४ गते बिहान ९ बजे फेला पारेको थियो । शवको सनाखत हुन नसकेपछि तस्वीर र हुलिया सार्वजनिक गरेको छ ।

Published : Wednesday, 2023 May 17, 7:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया