लागूऔषधसहित नौ जना पक्राउ, रुकुममा अफिम नै फेला

काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट ९ जनालाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–६ माझीटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ४० मिलिग्रामसहित सप्तरीको सुरुङ्गा नगरपालिका–५ बस्ने २० वर्षीय अविनाश चौधरीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ५२६१ नम्बरको हायसलाई जाँच गर्ने क्रममा हायसमा सवार उनलाई लागूपदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उप–महानगरपालिका–१७ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्रामसहित सोही उपमहानगरपालिका–१४ बस्ने ३३ वर्षीय मोहम्मद अली साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय जयशपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको छ ।

झापाको कन्काई नगरपालिका–४ परिवर्तन टोल बस्ने १७ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

झापाकै कन्काई नगरपालिका–४ मनकामना मन्दिर परिसरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय मिलिग्रामसहित भोजपुर हतुवागढी गाउँपालिका–१ घर भएका ४२ वर्षीय प्रेम बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको उर्लाबारी नगरपालिका–४ किसान चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ ग्राम ४ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय अर्जुन श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले सडकको किनारमा रोकी राखेको प्रदेश १–०२–०५० प–५४४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

रूकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका–५ लुदुङ खोला भन्ने स्थानबाट अवैध लागूऔषध अफिम १ किलोग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीया अबिसरा रोका र १८ वर्षीय किशोरी रहेका छन् ।

महोत्तरीको गौशाला नगरपालिका–१२ बाँके खोला रेलवे पुल नजिकबाट अवैध लागूऔषध गाँजा करिब ८२ किलोग्रामसहित सर्लाही ईश्वरपुर नगरपालिका–१२ ईश्वरपुर बस्ने २६ वर्षीय गणेश सार्की समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी कान्तिबजार महोत्तरीबाट खटिएको प्रहरीले ना.७ त २२०० नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी ट्याक्टर चालक गणेशसमेत दुवै जनालाई पक्राउ गरेको हो ।

Published : Wednesday, 2023 May 17, 12:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया