शेर्पाले आत्मसमर्पण गरेका हुन् वा दोलखाबाट ल्याइएको हो ? किन ताला काटियो ?

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वसांसद आङ्टावा शेर्पालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

अदालतले शेर्पालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले बताएका छन् ।

पक्राउ पुर्जी र नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएर आएपछि के कसो भएको रहेछ भनेर बुझ्नका लागि सोमबार शेर्पा आफैं जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको दाबी प्रहरीको छ ।

यद्यपि, शेर्पालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले दोलखाबाट पक्राउ गरेर ल्याएको स्रोतको भनाइ छ ।

प्रहरीले सोमबार साँझ शेर्पासँग केही कुराहरूमा सोधपुछ गरेको थियो । प्रहरी हिरासतमा रहेका बेला शेर्पाको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई मंगलबार बिहान ट्रमा सेन्टरमा लगेर उपचार गराइएको थियो । घाइते अवस्थामै शेर्पालाई सरकारी वकिलको कार्यालय र अदालतमा पेश गरेर म्याद थप गरिएको छ ।

शेर्पालाई व्यूरोको टोलीले दोलखा जिल्लाबाट पक्राउ गरेर ल्याएको आफन्तले दाबी गरेका छन् । शेर्पाका छोराले प्रहरीले आफ्नो घरमा निगरानी गरेको तथा ताला काटेर दु:ख दिएको आरोप लगाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई हिरासतमा गएर शेर्पाले भेटेको समाचार सार्वजनिक भएको थियो ।

शेर्पासहित अहिलेसम्म पूर्वउप–प्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाणसहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Published : Tuesday, 2023 May 16, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया