नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरू देशद्रोही हुन् : राजकिशोर यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानूनअनुसार हदैसम्मको कारबाही माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूले देशद्रोही काम गरेको बताए ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थीको प्रकरणलाई सामान्य भ्रष्टाचार हो भन्ने भाष्य निर्माण गर्न खोजिदैछ । यो सामान्य भ्रष्टाचार होइन । यो देश द्रोह हो । यसले सबै राजनीतिक दलभित्र अविश्वासको वातावरण सिर्जना गरेको छ ।’

‘यसलाई त्यही रुपमा लिएर दोषीलाई कानूनी कठघरामा ल्याउनको लागि सरोकारवाला निकायले सक्रियतापूर्वक ध्यान दिनुपर्छ’, उनले भनेका छन् ।

जसपाका नेता समेत रहेका यादवले भने, ‘ठूला दलका नेताहरू दिनहुँ भेटघाट गरिरहेका छन् । जनतामा शंका उत्पन्न भएको छ । शीर्ष नेताहरूले मिलोमतो गरेर नक्कली भुटानी शरणार्थी प्रकरणलाई कहिँ बचाउने त होइनन् ? आशंका उब्जिएको छ ।’

उनले मधेशका जिल्लाहरूमा गर्मीको समयमा आगलागीका घटनाहरू बढेको भन्दै चिन्ता जनाएका छन् ।

उनले भने, ‘मधेशका जिल्लाहरूमा आगलागीका घटनाहरू सुन्नामा आउँछ । त्यसैले राज्यले त्यो घटना हुनुभन्दा अगाडि नै त्यसको तयारी तथा त्यो प्रकोपलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेबारेमा पूर्व तयारी गर्नुपर्छ ।’

‘आगलागी भइहाल्यो भने पनि त्यसमा कसरी राहत दिन सकिन्छ भनेर काम गर्नुपर्छ’, सांसद यादवले भनेका छन् ।

सांसद यादवले भने, ‘वैशाख २९ गते सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा नम्बर ३ रामउदगार यादवको घर आगलागी भएर पूरै सम्पत्ति जलेर नष्ट भएको छ । उहाँको घरमा कुनै पनि कुरा छैन ।’

‘राज्यबाट आगलागीपीडितलाई कसरी क्षतिपूर्ति गर्न सकिन्छ त्यसमा ध्यान जाओस् भनेर सरकारको धयानाकर्षण गराएको हुँ’, सांसद यादवले भनेका छन् ।

Published : Tuesday, 2023 May 16, 12:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया