प्रहरी नियन्त्रणमा रहेका पूर्वसांसद शेर्पाको टाउकोमा चोट लाग्यो, आफन्तहरू मानवअधिकार आयोग जाने

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद आङ्टावा शेर्पाको टाउकोमा चोट लागेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा रहेका शेर्पाको टाउकोमा चोट लागेपछि ट्रमा सेन्टरमा मंगलबार बिहान उपचार गराइएको प्रहरीले जनाएको छ । आफै प्रहरी समक्ष पुगेका शेर्पालाई सोमबार राति नियन्त्रणमा राखिएको थियो ।

प्रहरी परिसर काठमाडौंको नियन्त्रणमा कांग्रेसका पूर्वसांसद शेर्पाको टाउकामा चोट शौचालयमा लडेर लागेको प्रहरीले दाबी गरेको छ ।

शेर्पाका आफन्तले पत्रपत्रिका र अनलाइनहरूमा आएका समाचार र पक्राउ पुर्जीबारे आफै बुझ्न गएका शेर्पालाई प्रहरीले कुटपिट गरेर घाइते बनाएको आरोप लगाएका छन् । शेर्पाका आफन्तले प्रहरीविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिने तयारी गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा शेर्पाको नाम पनि जोडिएको छ । सञ्चारमाध्यमहरूमा पक्राउ पुर्जी जारी भएको भनेर समाचारहरू आएपछि सोमबार साँझ शेर्पा आफै प्रहरीसमक्ष उपस्थित भएका थिए ।

शेर्पाको टाउकामा गम्भीर चोट लागेपछि प्रहरीले ट्रमा सेन्टर लगेर टाँका लगाएर उपचार गराएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी सीताराम रिजालले शेर्पा राति शौचालयमा लडेपछि टाउकोमा चोट लागेको बताए । शेर्पासँग सोमबार राति सोधपुछ गरिएको र सोधपुछ नसकिएका कारण आफूहरूसँग राखिएको एसपी रिजालले बताए । सोधपुछ सकिएपछि हिरासतमा राख्ने वा छाड्ने त्यसपछि निर्णय गरिने रिजालले बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्वउप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १४ जनालाई नियन्त्रणमा लिएर बयान लिइरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आफ्नो अनुसन्धान अगाडि बढाइरहेको छ । तर, प्रहरीभित्रकै केही तत्वले आफू अनुकूल हुने गरेर गतिविधि गरेपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा व्यवधान भइरहेको छ ।

Published : Tuesday, 2023 May 16, 12:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया