अप्सराका साथै विशाल र सिद्धार्थलाई पक्राउ

काठमाडौं । भारतको आसाम पुर्‍याई नाबालिका बेचबिखन गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतमा लगेर नाबालिका बेचबिखन गरेको अभियोगमा म्याग्दी रघुगंगा गाउँपालिका–३ बस्ने ३० वर्षीया अप्सरा भन्ने एलिना खत्रीलाई आइतबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

काठमाडौंमा बस्ने आफ्न्तकोमा जान्छु भनि नुवाकोटबाट बसमा जाने क्रममा ती नाबालिकालाई बसमा सँगै रहेका पुरूषले खानेकुरा तथा पानीमा बेहोश हुने औषधि मिसावट गरी खुवाएका थिए ।

बेहोश बनाई भारत आसामको कछर सिल्चर भन्ने स्थानको रेड लाइट एरियाको कोठीमा पुर्‍याई बेचबिखन गरी जबरजस्ती वेश्यावृत्तिमा लगाई राखेको अवस्थामा नाबालिकालाई उद्दार गरिएको छ ।

नेपाल प्रहरी, भारतीय प्रहरी र माईती नेपालको सहयोगमा ती नाबालिकाको उद्दार गरिएको थियो ।

थप अनुसन्धानको क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा उक्त कार्यमा संलग्न एलिना खत्रीलाई झापाबाट पक्राउ गरेको छ ।

उनीउपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । कसूरमा संलग्न अन्य फरार प्रतिवादीहरूको समेत खोजी भइरहेको छ ।

यता, रोमानिया पठाइदिन्छुभन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

रोमानिय पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बागलुङ नगरपालिका–७ घर भई काठमाडौं टोखा नगरपालिका–९ जाल्पाचोक बस्ने ३४ वर्षीय विशाल विश्वकर्मालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विक समेतले ८ जनालाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाई प्रतिष्ठित कम्पनीहरूमा १ लाख रूपियाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेका थिए ।

पीडितहरूबाट पटक–पटक गरी १८ लाख रुपियाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्र लेखेको थियो ।

उनलाई प्रहरीले काठमाडौं लाजिम्पाटबाट पक्राउ गरेको हो । विश्वकर्मालाई अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

यता, कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–३ माकलबारी बस्ने २९ वर्षीय सिद्धार्थ तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

तामाङ समेतले २ जनालाई वैदेशिक रोजगारीको लागि कम्बोडिया पठाई क्यासिनोमा १ लाख रूपियाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी १६ लाख रुपियाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएको थियो ।

प्रहरीले उनलाई गोकर्णेश्वर नगरपालिका शिवचोकबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

Published : Monday, 2023 May 15, 10:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया