बालकृष्ण खाणले कागज चपाएर निलेको कथाको के हो बास्तविकता ?

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणले प्रहरीको हातबाट कागज खोसेर चपाएर निलेको भनेर नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले समाचार लेखाएको छ ।

प्रहरीको टोली पूर्वगृहमन्त्री खाणको चाबहिलको मैजुबहालस्थित घरमा पुगेको थियो । त्यस बेला खाण घरमै थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर लैजान खोज्दा उनको हातमा कागज थियो । त्यो कागजलाई प्रहरीकै अगाडि चार टुक्रा पारेर च्यातेर खाणले भुइँमा फालेका थिए । प्रहरीले त्यो चार टुक्रा भएको कागजलाई मुचुल्का उठाएर ल्याएको स्राेतले जनाएकाे छ । खाणले कागज चपाएर खाएकाे झुठ कुराको अदालतमा छिटै पर्दाफास हुनेछ ।

अहिले आएर नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध कार्यालयका प्रहरी प्रमुख (एसएसपी) मनोज केसीले खाणले गोप्य कागजलाई चपाएर निलेको भनेर समाचार लेखाएका छन् । आफू हिरो बन्न एसएसपी केसीले कांग्रेसका नेता विशेष गरेर सभापति शेरबहादुर देउवा निकटका नेताहरूविरुद्ध जथाभावी समाचार लेखाइरहेका छन् ।

एसएसपी केसीले निष्पक्ष रुपमा अनुसन्धान गर्नुपर्नेमा मिडियाबाजी गरेर नेताहरूको मानमर्दन गरिरहेका छन् । केसीले किन र कसका लागि यो गतिविधि गरेका हुन् प्रश्न उठेको छ । कांग्रेसका महामन्त्री गगनकुमार थापा निकट मानिने एसएसपी केसीले सभापति देउवा निकटका नेताहरूमाथि प्रतिशोध साँधेर काम गरिरहेको आरोप छ ।

खाणलाई नियन्त्रणमा लिएर मैजुबहाल पुगेका मध्येका एक प्रहरीका अनुसार खाणले काम नलाग्ने एउटा कागजलाई चार टुक्रा बनाएर भुइँमा फालेको र त्यो कागजलाई टिपेर प्रहरीले ल्याएको छ । कागजमा के लेखिएको थियो बरामदी मुचुल्कामा उल्लेख नै रहेको होला । त्यो कागज अदालतमा प्रहरीले पेश गर्नुपर्ने पनि होला ! त्यो बेला एसएसपी केसीले के गर्छन् ?

प्रहरीले आफूलाई कुनै पनि बेला नियन्त्रणमा लिएर अनुसन्धानका लागि लैजान सक्छ भन्ने पूर्वानुमानसहित खाण घरै बसेका थिए ।

त्योभन्दा दुई दिन अगाडि खाण रुपन्देही गएका थिए । प्रहरीले खोजेका बेला उपलब्ध हुनुपर्छ भनेरै खाण तत्काल काठमाडौं फर्किएका थिए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई सहयोग गर्नुपर्छ भनेरै काठमाडौंमा बसेका थिए ।

खाणले चाहेको भए जति बेला पनि भारततिर प्रवेश गरेर पक्राउ पर्नबाट बच्न सक्थे । तर, उनले कुनै गलत काम र बिराउँ नगरेकाले भागेनन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वगृहमन्त्री खाणले प्रहरीसँग पक्राउ पुर्जी मागेका थिए । प्रहरीले अदालतको पक्राउ पुर्जी नभएर आफ्नै पुर्जी दिएर खाणलाई नियन्त्रणमा लिएको थियो ।

खाणले आफ्ना कानून व्यवसायीहरूसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै संलग्नता नरहेको र आफूले न्यायालयबाट न्याय पाउने भन्ने गरेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) केसीले नक्कली भुटानी शरणार्थी प्रकरणका नाइके मानिएका एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गरेका छैनन् । तत्कालीन गृहमन्त्री रामबहादुर थापा, तत्कालीन सचिवद्वय प्रेम राई र महेश्वर न्यौपानेलाई पक्राउ गरेका छैनन् ।

कम्युनिस्टलाई बचाएर एसएसपी केसीले नभागेर काठमाडौंमा बसेका कांग्रेस नेताहरूमाथि एक्सन लिएर बहादुरी देखाइरहेका छन् । अनुसन्धान गर्ने हो भने केसीले कुनै पनि मिडियाबाजी नगरेर गर्नुपर्छ । दोषीलाई कानूनी कठघारामा राख्नुपर्छ ।

Published : Saturday, 2023 May 13, 5:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया