स्वास्थ्य मन्त्रीलाई सूर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउन विज्ञहरूको सुझाव

काठमाडौं । नेपाल सरकारले सूर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउनुपर्ने सरोकारवालाहरूले सुझाव दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसँग शुक्रबार भएको भेटमा उनीहरूले नेपाल सरकारले विश्व स्वास्थ्य संगठन र विश्व बैंकले तोके बमोजिम सूर्तीजन्य पदार्थको खुद्रा मूल्यमा कम्तिमा पनि ७५ प्रतिशत कर लगाउनुपर्ने व्यवस्था गर्न सुझाव दिएका हुन् ।

क्षयरोग तथा फोक्सो रोगविरुद्घ क्रियाशील अन्तर्राष्ट्रिय संस्था ‘द युनियन’ सिंगापुरका क्षेत्रीय निर्देशक डा.तारासिंह बम र एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले नेपाल सरकारले सूर्तीजन्य पदार्थमा दक्षिण एशियाकै सबैभन्दा कम ३३ प्रतिशत कर लगाइरहेको जानकारी गराउँदै विश्व स्वास्थ्य संगठन र विश्व बैंकको सुझावअनुसार अन्त:शुल्क दर र स्वास्थ्य जोखिम कर परिमार्जन गरि ७५ प्रतिशत पुर्‍याउनुपर्नेमा सल्लाह दिएका हुन् ।

छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले सूर्तीजन्य पदार्थमा लाग्ने कर बढाएर त्यसबाट संकलित रकम विपन्न जनताको नि:शुल्क स्वास्थ्य उपचारमा खर्च गर्ने गरि आफूले प्रधानमन्त्री, अर्थमन्त्रीसहित उच्च अधिकारीसँग कुराकानी गरिरहेको र यसले चाडै सकारात्मक प्रतिफल दिने बताए ।

स्वास्थ्य कर कोषको सम्पूर्ण रकम स्वास्थ्य मन्त्रालयमार्फत खर्च हुनुपर्ने र त्यसको लाभ साच्चिकै विपन्न बिरामीले लिन पाउने गरि कार्यविधि बनाएर अगाडि बढ्न आफूले मन्त्रालयका अधिकारीलाई निर्देशन समेत दिइसकेको मन्त्री बस्नेतले जानकारी दिए ।

‘द युनियन’का क्षेत्रीय निर्देशक डा.बमले नेपालमा अहिले चुरोटमा कायम अन्त : शूल्क दर १८ प्रतिशतलाई बढाएर ५४ प्रतिशत बनाउनुपर्ने र स्वास्थ्य जोखिम कर प्रतिखिल्ली ६० पैसाबाट बढाएर प्रतिखिल्ली १ रुपियाँ बनाउनुपर्ने सुझाव दिए ।

डा.बमले सूर्तीजन्य पदार्थ नियन्त्रण तथा निगमन गर्ने ऐन २०६८ले संघीयताको भावना अनुकूल रहेकाले त्यसलाई संसोधन गर्नु पर्ने, सूर्तीजन्य पदार्थको बट्टा वा प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक सन्देश राख्नै पर्ने व्यवस्था कार्यन्वयन गर्नुपर्ने र स्वास्थ्य कर कोषको परिचालन बैज्ञानिक रुपमा गरिनु पर्ने बताए ।

एक्सन नेपालका अध्यक्ष चन्दले नेपालमा सूर्तीपदार्थको सेवनकै कारण वर्षेनी ३७ हजार जनाले ज्यान गुमाइरहेको तथ्यांक प्रस्तुत गर्दै नेपालमा कुल जनसंख्याको झण्डै २९ प्रतिशतले धूम्रपान तथा सूर्तीजन्य पदार्थको सेवन गर्ने गरेको पाइएको जानकारी दिए ।

एक्सन नेपालले हालै गरेको अध्ययनले सूर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सर रोगको निदान तथा उपचारमा आउने बिरामीको आर्थिक भार १६ प्रतिशत बिरामीले उपचारका लागि आफ्नो घर खेत बेच्ने गरेको देखाएको बताउँदै चन्दले सूर्तीजन्य पदार्थको सेवन न्यूनीकरणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

मन्त्री बस्नेतले सरोकारवाला विज्ञहरूले दिएका सुझावहरूलाई व्यवहारमा लागू गर्न आफू तयार रहेको बताए ।

Published : Friday, 2023 May 12, 11:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया