मन्त्रिपरिषद विस्तारमा यस्तो बन्यो तीन शीर्ष नेताहरूबीच सहमति

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरूसँग परामर्श गरेका छन् ।

सोमबार बिहान दाहालले कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल गरेका हुन् ।

तीन शीर्ष नेताहरूका बीच मन्त्रिपरिषद् विस्तारका लागि मंगलबार ४ बजे सत्ता गठबन्धन दलको बैठक बोलाउने समझदारी पनि भएको छ ।

दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँटका विषयमा सहमति जुट्न सकेको छैन ।

मंगलबार बस्ने सत्ता गठबन्धनको बैठकपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री दाालको तयारी छ ।

प्रधानमन्त्री दाहाल गृह मन्त्रालय माओवादी केन्द्रका लागि नै छुट्याएर बाँकी मन्त्रालयमा भागवण्डा गर्ने तयारीमा छन् । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले आठभन्दा बढी मन्त्रालयमा दाबी गरिरहेको छ । एकीकृत समाजवादी र जसपाले तीन–तीन मन्त्रालय मागेका छन् ।

कांग्रेसलाई अर्थ मन्त्रालय दिन प्रधानमन्त्री दाहाल तयार भएका छन् । कांग्रेसले अर्थ मन्त्रालय पायो भने प्रवक्ता डा.प्रकाशशरण महतलाई पठाउने तयारी गरेको छ ।

प्रधानमन्त्री दाहाल कांग्रेसका प्रवक्ता डा.महत अर्थमन्त्री बन्दा सकारात्मक छन् ।

यसैबीच, प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेसँग पनि भेट गरेका छन् । प्रधानमन्त्री दाहाललाई भेट्न घिमिरे प्रधानमन्त्री निवासमा पुगेका थिए ।

Published : Monday, 2023 March 27, 5:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया