मीनभवन प्रहरीद्वारा ललितपुरकी अञ्जलीलाई पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवन, काठमाडौंले ले ३६ वर्षीया अञ्जली बिसुन्केलाई पक्राउ गरेको छ ।

अनलाईनमार्फत १५ लाख २० हजार रूपियाँ ठगी गरेको अभियोगमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ की अञ्जलीलाई प्रहरीले पक्राउ गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अञ्जलीले पीडितलाई सामाजिक संजाल टिकटकमार्फत साथी बनाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

अञ्जलीले आफूलाई ईंगल्याण्डको नागरिक बताउने गरेकी थिइन् । ईंगल्याण्डबाट नेपाल आएपछि विवाह गरी ईंगल्याण्ड लैजाने प्रलोभन देखाउने गरेको अनुसन्धानका क्रममा देखिएको छ ।

अञ्जलीले जुत्ता, ब्याग, आइफोन, सुनका गरगहनाहरू र ७० हजार अमेरिकी डलर समेतको गिफ्ट पठाइदिने भनेर ठगी गर्ने गरेकी थिइन् ।

सामानहरूका लागि कुरियरले सम्पर्क गर्छ भनी फोटोको भिडियो समेत पठाएर अञ्जलीले पीडितलाई विश्वास दिलाउने गरेकी थिइन् ।

कुरियर कार्यालयबाट पार्सल पाउनको लागि एन्टी–मनी लउण्डरिङ सर्टिफिकेट, डेलिभरी चार्ज, भन्सार शुल्क, ईन्सुरेन्स चार्ज, क्लिरियन्स चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई विभिन्न व्यक्तिको नाममा रहेको बैंक खातामा पटक–पटक गरी रकम पठाउन लगाई ठगी गरेको उजुरीको आधारमा प्रहरीले अञ्जलीलाई पक्राउ गरेको जनाएको छ ।

अञ्जलीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

Published : Monday, 2023 March 13, 5:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया