मकवानपुरका तामाङ मीनभवनबाट पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवन नयाँ बानेश्वरले नक्कली मेनपावर खोलेर रकम ठगी गर्ने कार्यमा संलग्न २८ वर्षीय आदेश तामाङलाई पक्राउ गरेको छ ।

अपराध अनुसन्धान कार्यालयले तामाङलाई फागुन २४ गते मीनभवन, नयाँ बानेश्वरबाट पक्राउ गरेको सूचना अधिकारी प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताएका छन् ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नं. २ घर भई तामाङ हाल काठमाडौंको गाईबाच्छाटोलमा बस्दै आएका थिए ।

तामाङले केएचएम रिकरुटमेन्ट ग्रुप मेनपावरबाट रविन मोक्तान समेत १०० जनाभन्दा बढि व्यक्तिहरूबाट वैदेशिक रोजगारीको लागि मलेशिया पठाउने भनेर ठगी गरेका प्रहरीले जनाएको छ ।

उनले मलेशियामा रहेको टेलिप्लेक्स मेडिकल एसडीएन, बीएसडीको कम्पनीमा आकर्षक तलबमा पठाइदिन्छु भनेर ठगी गरेको आरोप छ ।

तामाङको कम्पनीमा खानतलासी गर्दा छाप १, एसर कम्पनीको सीपीयु दुई थान र केही कागजपत्र बरामद भएको छ ।

तामाङलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं, टेकुमा पठाइएको छ ।

Published : Thursday, 2023 March 9, 11:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया