भारतीय नागरिकद्वारा काठमाडौंमा सुनितालाई प्रयोग

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले २५ वर्षीया सुनिता परियार र २७ वर्षीय सुदीशकुमार साहलाई पक्राउ गरेको छ ।

अनुसन्धान कार्यालयका सूचना अधिकृत सोमेन्द्रसिंह राठौरद्वारा सोमबार जारी विज्ञप्तिअनुसार वैदेशिक रोजगारीमा ठगी गरेको अभियोगमा सुनिता र सुदीशलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकी सुनिता काभ्रेको बनेपा नगरपालिका वडा नं. ११ निवासी हुन् । उनी हाल काठमाडौंको कालीमाटीमा बस्दै आएकी थिइन् ।

पक्राउ परेका सुदीशकुमार भारतको बिहार राज्यको मोतीहारी जिल्ला, रामपुर ग्राम पञ्चायत, थाना दारपा स्थायी घर भइ हाल काठमाडौंको कालीमाटीमा बस्दै आएका थिए ।

सुनिता र सुदीशकुमारले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स एप, इन्स्टाग्राम, भाईवर टिकटकमार्फत साथी बनाई ठगी गर्ने गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले आफू मलेसियाको नागरिक हुँ, हाल युकेमा डेन्टिस डाक्टर पेशा गर्छु भनी पीडितहरूसंग मोबाईल नम्बर मागी लिई ह्वाट्स एपमार्फत कुराकानी गर्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले युकेमा रहेको हेल्थकेयर असिस्टेनमा राम्रो नोकरीको डिमाण्ड रहेको छ भनेर प्रलोभनमा पार्ने गरेका थिए ।

सबै प्रकृया मिलाई युकेमा नोकरी लगाई दिन्छु भन्ने जस्ताप्रलोभन देखाई, फोटो, पार्सपोर्ट, नागरिकता लगायतको व्यक्तिगत विवरण पठाउन लगाउने कार्य सुनिता र सुदीशकुमारले गरेको प्रहरी भनाइ छ ।

उनीहरूले कागजात लिए पश्चात रकम मागी ठगी गर्ने र अरु बिभिन्न ब्यक्तिहरूलाई पार्सल, आकर्षक गिफ्ट, डलर लगायतको सामान पठाएको छुभनी फोटो, भिडियो कल गरेको केहि दिनपछि प्रयोगकर्ताले तपाईहरूको पार्सल भारतको इन्दिरागान्धी एयरपोटमा आई पुगेको छ, उक्त पार्सल लगायतको सामान पाउनको लागि कस्टम चार्ज, क्लिरियन्स, ईन्सुरेन्स, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितहरूलाई बैंक खातामा पैसा हाल्न लगाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

उनीहरूले ग्लोबल आईएमई बैकको खाता न. ०६०७०१००१०१७२ भएकी सुनिता परियारको नाममा तेईस लाख बराबरको रकम पठाउन लगाई अनलाईनमार्फत ठगी गरेको भन्ने ब्यहोराको ४ जनाको उजुरी पर्न आएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त उजुरीको आधारमा प्रारम्भीक अनुसन्धान कार्य गर्दै जाँदा ठगी कार्यमा संलग्न भारत बिहार राज्य मोतीहारी जिल्ला रामपुर ग्राम पञ्चायत थाना दारपा घर भई हाल जिल्ला काठमाडौं कालीमाटी बस्ने वर्ष २५ को सुदीशकुमार साह र जिल्ला काभ्रेपलान्चोक बनेपा न.पा. वडा नं. ११ घर भई हाल जिल्ला काठमाडौं कालीमाटी बस्ने वर्ष २७ की सुनिता परियारलाई फेला पारी पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमा पठाइएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2023 February 27, 4:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया