काठमाडौंमा ५ करोडको डकैती, शाही पक्राउ, १० जना थुनामा

काठमाडौं । काठमाडौं प्रहरीले ५ करोड चोरी तथा डाँका गरेको अभियोगमा थप एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले कालीकोटको महावै गाउँपालिका ४ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका १० स्यूचाटर बस्ने वर्ष २३ को युवराज शाहीलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

२०७९ कात्तिक २८ गते अन्दाजी साढे ६ बजे साँझ काठमाडौं महानगरपालिका वडा नं. ३ बसुन्धारास्थित बंगलादेश राजदूतावास पछासड मधुरबिक्रम खनालको घरमा ११/१२ जनाको समूहले चोरी तथा डकैती गरेर फरार भएको थियो ।

अज्ञात हतियारधारी समूहले मधुरबिक्रम खनालकी श्रीमती नन्दा मल्ल लगायतका उक्त घरमा भएका अन्य मानिसहरूलाई नियन्त्रणमा लिई बन्धक बनाई धारिलो हतियार खुकुरी, हतौडा तथा रड प्रहार गरी सख्त घाइते बनाएका थिए ।

मानिसहरूलाई नियन्त्रणमा लिइ घरमा रहेको नगद, सुन तथा हिराका बहुमूल्य गरगहना तथा नगद करीव ५ करोड बराबरको धनमाल लुटी फरार भएका थिए ।

फरार भएका व्यक्तिहरूको खोजतलास गर्ने क्रममा १० जनालाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतको पेश गरिएको थियो ।

अदालतको आदेशले १० जना प्रतिवादीहरूलाई पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल चलान गरिएको छ ।

फराररहेका युवराज शाहीलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । फरार रहेका अन्य थप प्रतिवादीहरूको खोजतलास कार्य जारी रहेको छ ।

Published : Saturday, 2023 February 25, 12:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया