काठमाडौंमा अपहरणको नाटक गर्ने ग्याङ पक्राउ, कुरा लेनदेनको

काठमाडौं । काठमाडौंमा मान्छे अपहरणको नाटक गर्ने ६ जना व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले पक्राउ गरेको छ ।

प्रहरीले ६ जनालाई मंगलबार पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

चन्द्रागिरी नगरपालिका– १३ पुरानो नैकापस्थित कलंकी पिस ब्याम्बो रिसोर्टको अगाडि मान्छे अपहरण परेको सूचना पाउनेवित्तिकै प्रहरी परिचालन भएको थियो ।

घटनाको अनुसन्धान गर्ने क्रममा अपहरणको घटना नभइ लेनदेन कारोबार रहेको भन्ने खुलेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका १३ का ४७ वर्षीय बिदुर बस्नेत, चितवनको भण्डारा राप्ती नगरपालिका ५ घर भई हाल नैकाप बस्ने ३३ वर्षीय दिलिप बिक, सर्लाहीको बर्हथवा नगरपालिका ६ घर भई हाल बालाजु बस्नेत ४७ वर्षीय भोला महतो नुनिया रहेका छन् ।

काभ्रेको खानीखोला गाउँपालिका १ घर भएका ४२ वर्षीय जगतबहादुर भोलान, काभ्रेको बनेपा नगरपालिका ६ घर भएका ५३ वर्षीय कान्छामान जिम्वा र धादिङको थाक्रे गाउँपालिका ५ घर भई हाल कालीमाटी बस्ने ४४ वर्षीय आशमान लामा पनि पक्राउ परेको विज्ञप्तिमा उल्लेख रहेको छ ।

पक्राउ परेका ६ जनालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंमा पठाइएको छ ।

चन्द्रागिरी नगरपालिका १३ का विदुर बस्नेतले काभ्रेका जगतबहादुर भोलान, कान्छामान जिम्बा र आशमान लामालाई १० लाख रुपियाँ सापटी दिएपनि पैसा तिर्न सकेका थिएनन् ।

विदुर, जगतबहादुर, कान्छामान र आशमान पुरानो नैकापस्थित पिस ब्याम्बो रिसोर्टमा बसेका थिए । जगतबहादुर, कान्छामान र आशमानले विदुरको पैसा तिर्ने उद्देश्यले आ–आफ्नो घरमा फोन गरी आफू अपहरणमा परेको भन्दै साढे ३ लाख रुपियाँ लिएर आउन भनेका थिए । उनीहरूका पत्नीहरू पतिको अपहरण भएको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी गर्न आइपुगेका थिए ।

प्रहरीले खोजी गर्दा उनीहरू पुरानो नैकापस्थित पिस ब्याम्बो रिसोर्टमा बसिरहेको फेला परे । प्रहरीले विदुर र उनीसँग लेनदेन कारोबार भएका ३ जना र रिसोर्टमा सँगै बसेका दिलिप र भोलालाई पनि पक्राउ गरेको छ ।

Published : Wednesday, 2023 February 8, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया