माओवादी सरकार एक महिनामै ढल्ने अवस्थामा पुग्यो, कुर्सी बचाउन बैठक रोकियो

धनगढी । माओवादी केन्द्र र एमालेसहितका दलहरूको समर्थनमा बनेको सुदूरपश्चिम प्रदेश सरकार ढल्ने अवस्थामा पुगेको छ ।

सरकार गठन भएको एक महिनाभित्रै ढल्ने अवस्थामा पुगेको छ । बुधबार माओवादी नेतृत्वको सरकारले विश्वासको मत लिने कार्यसूची प्रदेश सभा बैठकमा थियो ।

विश्वासको मत नपाउने अवस्था आएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।

माओवादी केन्द्रका नेता समेत रहेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने तयारी गरेका थिए । प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । विश्वासको मत नपाउने र अल्पमतमा परेर सरकार ढल्ने अवस्था आएपछि सो बैठक स्थगित भएको छ ।

सुदूरपश्चिम सरकार विश्वासको मत नपाएर ढल्ने भएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबीच वार्ता भएको छ । दाहाल र ओलीको परामर्शमा सुदूरपश्चिम सरकार बचाउन प्रदेश सभाको बैठक स्थगित गर्न लगाइएको छ । यो बीचमा रेशम चौधरीसँग वार्ता गरेर सरकार बचाउने खेल हुनेछ ।

सुदूरपश्चिम प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले बिहीबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।

प्रदेश सरकारको आग्रहमा प्रदश सभा बैठक स्थगित गरिएको छ । माओवादीका नेता रावल पुस २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

सत्तारूढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग र मुद्दालाई लिएर विश्वासको मतबारे अझै निर्णय गरेको छैन । नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्यहरू छन् ।

जेलमा रहेका रेशम चौधरीसँग छलफल गर्न मंगलबार ७ जना प्रदेश सभा सदस्यहरू काठमाडौं गएका छन् । उनीहरू बुधबार बिहानसम्म धनगढी फर्किएका छैनन् ।

नागरिक उन्मुक्ति पार्टीले सहयोग नगर्ने होभने माओवादी, एमालेको सुदूरपश्चिम सरकार ढल्नेछ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभा रहेको छ । सरकार बनाउन २७ मत आवश्यक पर्छ । नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । कांग्रेसको १९ सदस्य छन् । माओवादीको ११ जना सदस्य छन् । एमालेको १० जना सदस्य छन् । नागरिक उन्मुक्ति पार्टीको ७ जना सदस्य छन् । नेकपा (एकीकृत समावादी)को ४ जना सदस्य छन् । राप्रपाको १ जना र स्वतन्त्र १ जना रहेका छन् ।

Published : Wednesday, 2023 February 8, 12:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया