ओली भेट्न बार्दली होइन छतमै पुगे प्रचण्ड, कांग्रेस–एमालेलाई पंगु बनाउँदै

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान ओलीलाई भेट्न दाहाल बालकोटस्थित ओली निवास पुगेका छन् । भेटमा के–के कुराकानी भएको छ ? केही भनिएको छैन । दाहाल–ओलीबीच छतमा कुराकानी भएको थियो ।

दाहाल र ओलीबीच रिक्त रहेका मन्त्रालयका विषयमा कसरी अगाडि बढ्ने भन्नेबारेमा परामर्श भएको हुन सक्ने बुझिएको छ ।

गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय रिक्त छन् ।

ती मन्त्रालय बाँडेर आफैले लिने वा अन्य दलहरूलाई सरकारमा ल्याएर दिने भन्ने विषयमा पनि परामर्श भएको बुझिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाइसकेको छ । सरकारलाई समर्थन भने जारी राखेको छ ।

सरकारमा जनता समाजवादी पार्टी नेपाल (जसपा) जान खोजीरहेको छ । जसपालाई सरकारमा ल्याउनेबारेमा पनि दाहालले ओलीसँग परामर्श गरेको बुझिएको छ ।

प्रधानमन्त्री दाहालले गृह मन्त्रालय आफ्नो दल माओवादीसँग राख्न खोजेका छन् ।

गृहमन्त्री बन्न उप–प्रधानमन्त्री समेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले निकै जोडबल गरेका छन् ।

प्रधानमन्त्री दाहालसँग गृहमन्त्री बन्न वर्षमान पुन, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा लगायतका नेताहरूले चक्कर लगाइरहेका छन् ।

माओवादीभित्र केही नेताहरूले गृहमन्त्रीमा रेखा शर्मालाई लैजान पनि सुझाव दिएका छन् । शर्मालाई गृहमन्त्री बनाएर पहिलो गृहमन्त्रीको इतिहाँस बनाउनुपर्ने सुझाव छ । शर्मा हाल सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना, प्रविधिमन्त्री छिन् ।

दाहाल र ओलीबीच राष्ट्रपति निर्वाचनका विषयमा पनि परामर्श भएको छ । ओलीले राष्ट्रपतिमा पूर्वसहमतिअनुसार अगाडि बढ्न दाहाललाई दवाव दिएका छन् ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिका नाममा नेपाली कांग्रेसलाई राष्ट्रपतिका नाममा ‘चारो’ हालेका छन् । कांग्रेसले राष्ट्रपति पाउँछु भनेर आशा गरेर बसेको छ ।

प्रधानमन्त्री दाहालले कांग्रेस र एमालेबीच द्वन्द्व सिर्जना गरेर राष्ट्रपति आफूले चाहेको व्यक्तिलाई बनाउन खोजेका छन् ।

यो कुरा कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष ओलीले बुझेका छन् वा छैनन् ? भविष्यमा थाहा हुनेछ ।

Published : Wednesday, 2023 February 8, 11:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया