कांग्रेसले यस कारण राष्ट्रपति पाउने सम्भावना कम छ, प्रचण्डको रणनीति कांग्रेस-एमाले भिडाउने

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएकै भरमा राष्ट्रपति पद पाउने सम्भावना निकै कम छ ।

कांग्रेसका नेताहरूले राष्ट्रपति पद पाउन र प्रधानमन्त्री दाहाललाई फकाउने भित्री गृहकार्यहरू गरेका छैनन् । जति गरेका छन् त्यो पर्याप्त छैन ।

प्रधानमन्त्री दाहालले कांग्रेस र कांग्रेसका नेताहरूलाई राम्रोसँग जानेका छन्, बुझेका छन् । विश्वासको मत दिएकै भरमा दाहालले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने सम्भावना निकै कम छ ।

प्रधानमन्त्री दाहाल कच्चा खेलाडी होइनन् । एमालेका अध्यक्ष खड्गप्रसाद ओली पनि माहिर खेलाडी मानिन्छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई बालुवाटारमा कुराएर ओलीले दाहाललाई बालकोटमा बोलाएर राजनीतिक समीकरण फेरिदिएका थिए ।

दाहाल पाँच वर्षका लागि प्रधानमन्त्रीमा सुरक्षित हुन चाहन्छन् । एमाले वा कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्दा भविष्यमा आफूलाई अफ्ठ्यारो पर्ने दाहालले देखेका छन् ।

कांग्रेस र एमालेलाई भिडाएर राष्ट्रिय सहमतिका नाममा दाहालले आफू अनुकूलको व्यक्तिलाई राष्ट्रपति बनाउन खोजेका छन् । दाहालले राजनीतिक दलको नेताभन्दा बाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउन खोजेका छन् । त्यो भयो भने एमाले र कांग्रेसलाई पनि चिड्याउन नपर्ने, आफ्नो स्वार्थ पनि पूरा हुने ।

सरकार बनाउने बेला दाहाल एमालेसँग नराम्रोसँग चुकिसकेका छन् । दाहालले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँगको सहमतिमा प्रधानमन्त्री आफूले लिने तथा सभामुख र राष्ट्रपति एमालेलाई दिने सहमति गरिसकेका छन् । ओलीले दाहाललाई दैनिक सरह भेटेर वा विभिन्न शक्तिकेन्द्रका माध्यमबाट दवाव दिइरहेका छन् ।

यता, कांग्रेसले राष्ट्रपति आफूले पाउने भनेर मुख मीठो बनाएर बसेको छ । तर, राष्ट्रपति पद पाउनका लागि गर्नुपर्ने भित्री गृहकार्य सन्तोषजनक रुपमा भएका छैनन् । कांग्रेसले दाहाललाई विश्वास दिलाउनुपर्छ । कांग्रेसले दाहालको रणनीति पनि बुझ्नुपर्छ । दाहालले अहिले खेलेको भूमिका कांग्रेस र एमालेलाई टाढा बनाउने रणनीति छ । कांग्रेस र एमाले जति टाढा वा दुश्मन हुन्छन् त्यति धेरै फाइला दाहाललाई हुन्छ ।

दाहालले अहिले पनि निरन्तर कांग्रेस र एमालेलाई भिडाइरहेका छन् । त्यो कुरा सभापति देउवा र अध्यक्ष ओलीले बुझेका छैनन् । बरु सभापति देउवा धेरै बोलेका छैनन् । तर, कुरै नबुझेर एमालेका अध्यक्ष ओली जथाभावी बोलिरहेका छन् । ओलीले कांग्रेसलाई चिढ्याइरहेका छन् । कांग्रेसले सत्ता पाउन जे पनि रणनीति बनाउन सक्छ । कांग्रेस ठूलो पार्टी हो । प्रधानमन्त्री दाहालको रणनीतिलाई देउवा–ओलीले बुझ्न जरुरी छ ।

सभापति देउवाले केही प्रयासहरू गरिरहेका छन् । धुम्बाराहीमा बसेका देउवा अर्को धुम्बाराही जन्मिन्छ कि भन्ने त्रासमा पनि छन् । देउवाका किचन क्याबिनेटका सल्लाहकारहरूले राष्ट्रपति कांग्रेसले पाउँदा कांग्रेसभित्रै अर्को शक्तिको जन्म हुने र भविष्यमा आफूहरूलाई खतरा हुने आशंकामा छ । देउवालाई उचालेर सत्ताभन्दा बाहिर कांग्रेसलाई पुर्‍याएको त्यो गिरोह पुनः सक्रिय भइरहेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने भनेर देउवाले पार्टीका नेताहरूका बीच भनिसकेका छन् । देउवाले पौडेललाई जिताउने गरेर राष्ट्रपति पदको उम्मेदवार बनाउनुपर्छ ।

कांग्रेसभित्र हल्ला के छभने राष्ट्रपतिमा जत्ने सम्भावना भयो भएमा पौडेल अन्यथा नेता कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बन्ने भन्नेछ ।

कांग्रेसले राष्ट्रपति लिने गरेर रणनैतिक योजना बनाउनुपर्छ । तत्कालीन समयमा गिरिजाप्रसाद कोइरालाको किचन क्याबिनेटमा बसेका केही सल्लाहकारहरूसँग पनि परामर्श गर्नुपर्छ । गिरिजाप्रसाद कोइरालाले निर्णय लिनुभन्दा पहिला आफ्ना भित्रिया सल्लाहकारसँग परामर्श गर्थे । ती भित्रिया सल्लाहकारहरू लो–प्रोफाइलमा अहिले पनि छन् । उनीहरूको सुझाव, सल्लाह र सूचनाका आधारमा सभापति देउवा अगाडि बढ्ने हो भने सफल हुने पक्का छ ।

अन्यथा कांग्रेसले प्रधानमन्त्री दाहालको रणनीति बुझ्न सक्ने छैन । अहिले पनि दाहालको रणनीति कांग्रेसले राम्रोसँग बुझेको छैन ।

Published : Tuesday, 2023 February 7, 8:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया