ओली र भण्डारीबीच मनमुटाव, एमालेका दुई समूहका यी हुन् राष्ट्रपतिका सम्भावित उम्मेदवार

काठमाडौं । एमालेभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले पदीय आचारण विपरित राजनीतिक हस्तक्षेप बढाएको भन्दै विरोध भएको छ ।

एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले फागुन २६ गते हुन लागेको राष्ट्रपति निर्वाचनमा आफू निकटका नेतामध्येबाट राष्ट्रपतिको उम्मेदवार बनाउन खोजेपछि एमालेभित्र बबण्डर भएको छ । भण्डारीले शुरुदेखि नै एमालेभित्र हस्तक्षेप गरेको भनेर विरोध र आलोचना हुँदै आएको छ ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले आफू निकटका नेताहरूबाट राष्ट्रपतिको उम्मेदवार बनाउन खोजेका छन् । ओली र भण्डारीबीच राष्ट्रपतिको उम्मेदवार आफू निकटको नेतालाई बनाउन निकै प्रतिस्पर्धा भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार भण्डारीले ईश्वर पोखरेल, डोरमणि पौडेल, गोमा देवकोटा, महेन्द्रबहादुर पाण्डेलाई राष्ट्रपतिको उम्मेदवार बनाउन चाहेकी छिन् ।

अध्यक्ष ओलीले पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्यमध्येबाट राष्ट्रपतिको उममेदवार बनाउन चाहेका छन् ।

ओलीले आफूले विश्वास गरेका र जे पनि भनेको मान्ने नेतालाई राष्ट्रपतिको उम्मेदवार बनाउन खोजेका छन् । यसअघि ओलीले झापाका देवराज घिमिरेलाई सभामुख बनाएर सबैलाई सरप्राइज दिएका छन् ।

ओलीले अहिलेसम्म कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने हुन् पत्ता खोलेका छैनन् । अन्तिम समयमा ओलीले गोजीबाट राष्ट्रपतिको उम्मेदवार बाहिर निकाल्नेछन् ।

भण्डारीले पनि ओलीलाई ‘छिर्कन’ लगाएर राष्ट्रपति उम्मेदवार आफ्नो विश्वासपात्रलाई बनाउन चाहेकी छिन् ।

मन्त्री बनाउने बेला पनि राष्ट्रपति भण्डारीले आफू निकटकी सांसद विमला पौडेल राईलाई परराष्ट्रमन्त्री बनाएकी छिन् ।

भण्डारीले अरु धेरै सांसदलाई पनि मन्त्री बनाएकी छिन् । भण्डारीले हरेक राजनीतिक नियुक्तिहरूमा ओलीसँग भाग खोज्दै आएकी छिन् । भण्डारीको यो कार्यबाट ओली पछिल्लो समय आजित बनेको चर्चा एमालेभित्र छ ।

उता, माओवादी केन्द्रले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने निर्णय गरेपछि एमालेले अगाडि सार्ने उम्मेदवार राष्ट्रपति बन्ने सम्भावना निकै कम छ ।

एमालेले सभामुख, राष्ट्रपतिसहितका महत्वपूर्ण पद लियो भने भविष्यमा सरकार चलाउन समस्या हुने कुरा माओवादीले राम्रोसँग बुझेको छ ।

उता, नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा दाबी गरिरहेको छ । कांग्रेसले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने सम्भावना निकै ठूलो छ । पौडेलले अस्वीकार गरेमा नेता कृष्णप्रसाद सिटौला उम्मेदवार बन्ने सम्भावना पनि छ ।

Published : Monday, 2023 February 6, 8:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया