घोराहीको दुईखोलीमा पत्नीको हत्या, कृतिमानले दिए प्रहरीलाई झुठो सूचना

काठमाडौं । दाङमा आफ्नै पत्नीलाई कुटपिट गरेर हत्या गरेको अभियोगमा प्रहरीले ४९ वर्षीय कृतिमान बुढाथोकीलाई पक्राउ गरेको छ ।

कृतिमानले ४४ वर्षीया गोविना बुढाथोकीलाई कुटपिट गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कृतिमानले पत्नीको कर्तब्य गरी हत्या गरेपछि प्रहरीलाई पत्नी गोविना मुटुको रोगको कारणले मरेको हो भनि झुक्याउन खोजेका थिए ।

माघ २१ गते राति रोल्पाको लुङग्री गाउँपालिका– ६ गुम्चाल बस्ने कृतिमानले दाङको घोराही उप–महानगरपालिका– १९ मलार दुईखोली खोलामा पत्नी गोविना बुढाथोकीलाई कुटपिट गरी हत्या गरेका थिए ।

माघ २२ गते बिहान पत्नी एक्कासि मुटु दुखेर बिरामी भई उपचारको लागि घोराही ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको भनेर कृतिमानले प्रहरीलाई झुट्ठा विवरण दिएका थिए ।

कृतिमानले प्रहरी चौकी दुईखोलीलाई खबर गरेपछि तत्काल परिचालन भएको प्रहरी अधिकृतसहितको अनुसन्धान टोलीले गोविनाको अवस्था, घटनास्थलको प्रकृति लगाएतका बिभिन्न पक्षहरूको अध्ययन गरेको थियो ।

घटना शंकास्पद देखिएकाले मृतकका पति कृतिमान बुढाथोकीलाई तत्कालै नियन्त्रणमा लिई प्रहरीले आवश्यक सोधपुछ गरेको थियो ।

अनुसन्धानका क्रममा कृतिमानले माघ २१ गते राति कुटपिट गरी हत्या गरको बयान प्रहरी समक्ष दिएका छन् ।

प्रहरीले हत्या अभियुक्त कृतिमानलाई दाङ जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान कार्य अगाडि बढाइएको जनाएको छ ।

Published : Monday, 2023 February 6, 7:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया