रविले पत्रकार सम्मेलन गरेकै दिन कांग्रेस नेता उमेश श्रेष्ठद्वारा कानूनअनुसार आयोगमा दाबी पेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गरेकै दिन नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले अन्याय भएको भन्दै न्याय खोजेका छन् ।

चितवन २ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका श्रेष्ठले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गरेर आफूलाई निर्वाचन आयोगले न्याय दिने बताएका छन् ।

लामिछानेको अवैध नागरिकताका कारण सांसद पद गएपछि दोस्रो स्थान हासिल गरेका श्रेष्ठले आफूलाई निर्वाचित गर्नुपर्ने माग गरेका हुन् । उनले आफूलाई सांसद पदमा निर्वाचित भएको घोषणा गर्न आयोगसँग माग दाबी गरेका छन् ।

श्रेष्ठले आयोगबाट आफूले न्याय नपाए अदालत जाने चेतावनी दिएका छन् ।

विधिको शासनका लागि पनि नजिर स्थापना गर्न आफू अदालत जाने कांग्रेस नेता श्रेष्ठले बताएका छन् ।

उनले आफू अदालतसम्म जान नपर्ने गरी आयोगले न्याय दिनेमा विश्वस्त रहेको बताएका छन् ।

‘उहाँ उपप्रधानमन्त्री हुनु भएको । सांसद भएको । उहाँको शुरुदेखिकै प्रक्रिया गलत । यसलाई मान्यता दिन मिल्दैन’, कांग्रेस नेता श्रेष्ठले भनेका छन् ।

अधिवक्ता राधिका खतिवडाले पनि रवि लामिछानेको शुरुको प्रक्रिया नै बदर भएको बताएकी छिन् ।

उनले बदर उम्मेदवारले पाएको मत पनि बदर भएको भन्दै दोस्रो स्थान हासिल गरेका उमेश श्रेष्ठ विजयी भएको बताएकी छिन् ।

चितवन २ मा उप–निर्वाचनको चर्चा चलिरहेका बेला श्रेष्ठको निवेदनलाई आयोगले विशेष मह्तवका साथ निर्णय गर्नुपर्ने अधिवक्ता जनार्दन बन्जाडेले बताएका छन् । उनले लामिछानेको उम्मेदवारी नै अबैधानिक भएकाले श्रेष्ठलाई निर्वाचित घोषणा गर्नुपर्ने बताएका छन् ।

मंसिर ४ गते भएको निर्वाचनमा चितवन २ बाट लामिछानेले ४९ हजार ३०० मत पाउँदा उप–विजेता बनेका श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए ।

Published : Sunday, 2023 February 5, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया