सभापति देउवाद्वारा दुई शीर्ष नेतासँग भेट, सिंहदरबारमा उथलपुथल

काठमाडौं । सत्तागठबन्धनभित्र खटपट सुरु भएका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक भेटवार्तालाई तिब्र बनाएका छन् ।

शनिबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सभापति देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा राष्ट्रपति निर्वाचनका विषयमा छलफल केन्द्रित रहेको एक नेताले बताएका छन् ।

देउवाले नेपाल र ठाकुरसँग राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपतिको निर्वाचनको तयारीका विषयमा परामर्श गरेका हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको उपाध्यक्ष र राष्ट्रपतिको निर्वाचनको तयारीका विषयमा छलफल भएको बताएका छन् ।

नेपालले राष्ट्रियसभाको उपाध्यक्षमा आफ्नो पार्टीको दाबी नरहेको बताएका छन् । कांग्रेसले यसअघि नै राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले विपक्षी दलका नेताहरूबीच समसामयिक राजनीतिक विषयहरूलाई लिएर भेटवार्ता भएको बताएका छन् ।

राष्ट्रियसभामा उपाध्यक्षको निर्वाचन आगामी सोमबार हुँदैछ । फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यतालिका छ ।

कांग्रेसले विपक्षमा रहेका दलहरूलाई एक ठाउँमा लिएर विपक्षी मोर्चा बनाउन प्रयास गर्दै आएको छ ।

Published : Saturday, 2023 February 4, 12:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया