बालुवाटार–बालकोटबीच खटपट, कांग्रेसका यी नेताहरू वार्तामा खटिए

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै सिट संख्या जितेको नेपाली कांग्रेससँगको सहकार्य र गठबन्धन तोडेर गएको माओवादी केन्द्रले नयाँ सत्तागठबन्धनभित्रैबाट धोका पाउन थालेको छ ।

सरकार गठबन्धन भएको दुई महिना मै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्तासाझेदार दलहरूबाट गडबढी हुन थालेको छ ।

नागरिकता र राहदानी कीर्ते काण्डमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फसेपछि गठबन्धनभित्र बबण्डर भएको छ ।

लामिछाने अमेरिकन नागरिक ठहर भएपछि सांसद, उप–प्रधानमन्त्री, गृहमन्त्रीसहितका सबै पद गुमाउन पुगेका छन् । लामिछानेविरुद्ध राहदानी दुरुपयोग गरेको अभियोगमा कारबाही हुनै बाँकी छ ।

यस्तो अवस्थामा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले प्रधानमन्त्री दाहाललाई असहयोग गर्ने लामिछानेलाई ‘मोहरा’ बनाएका छन् ।

ओलीले लामिछानेलाई अगाडि सारेर दाहाललाई धोका दिने तयारी गरिरहेका छन् । लामिछानेका नाममा ओलीले दाहालसँग खेलकुद गरिरहेका छन् । लामिछाने र राष्ट्रपति निर्वाचनका विषयमा सत्तागठबन्धनभित्र खटपट समेत सुरु भइसकेको छ ।

ओलीको रणनैतिक चाल बुझेपछि प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससँग अनौपचारिक सम्वाद अगाडि बढाएका छन् ।

दाहाल र ओलीबीच राष्ट्रपति तथा गृह मन्त्रालयका विषयमा अविश्वास बढिरहेकोछ । दाहालले सरकारको स्थिरताका निम्ति कांग्रेससँग सहकार्य गर्ने विकल्पमा समेत छलफल थालेको एक नेताले बताएका छन् ।

ओलीको प्रस्तुति र सरकारमा सहभागी मन्त्रीहरूबाट व्यक्त भइरहेका व्यवस्थाविरोधी अभिव्यक्तिले दाहाल चिन्तित बनेका छन् ।

उता, कांग्रेस सभापति शेरबहादुर देउवाले उप–सभापति पूर्णबहादुर खड्का, नेता मोहनबहादुर बस्नेत, संसदीय दलका प्रमुख सचेतक रमेश लेखकसहितका नेतामार्फत प्रधानमन्त्री दाहालसँग संवाद अगाडि बढाएका छन् ।

एमालेबाट अलग गराएर अध्यक्ष दाहाल नेतृत्वकै सरकारलाई निरन्तरता दिने गरी पुरानै गठबन्धन ब्युँताउने कसरत कांग्रेस नेताहरूले गरिरहेका छन् ।

सत्तागठबन्धनमा खटपट हुँदैमा प्रधानमन्त्री दाहाल दौडिएर आउने छैन । दाहालले कांग्रेसको विश्वास खोजेका छन् ।

उता, सरकार अप्ठ्यारोमा पर्‍यो भने कांग्रेस आफैं संविधानको धारा ७३ (३) अन्तर्गत ठूलो दलको हैसियतले प्रधानमन्त्री बन्न खोज्ने हो कि भन्ने आशंका प्रधानमन्त्री दाहाललाई छ ।

एमाले–माओवादीसहितका दलहरूको अहिलेको गठबन्धन राष्ट्रपति निर्वाचनसम्म जाने सम्भावना छ । त्यसपछि एमालेको भूमिकामा भर पर्छ ।

कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले नयाँ समीकरणका विषयमा प्रधानमन्त्री दाहालको कदममा भर पर्ने बताएका छन् ।

उनले वर्तमान समीकरणलाई निरन्तरता दिन्छन् कि पुरानै समीकरणमा फर्कने कोसिस गर्छन्, त्यसको आधारमा राजनीति कोर्स तय हुने बताएका छन् ।

प्रवक्ता डा.महतले अहिले कांग्रेसको मुख्य सरोकार राष्ट्रपतिमा रहेको बताएका छन् ।

प्रधानमन्त्री दाहालको प्रस्ट संकेतबिना कांग्रेसले उम्मेदवारबारे निर्णय लिनेछैन । सभापति देउवाले राष्ट्रपतिको उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई बनाउने पक्षमा छन् ।

माओवादीले एमालेसँगको समीकरणलाई हेरफेर नपार्ने नीति लिएको अवस्थामा कुनै गैरदलीय व्यक्ति पनि आउन सक्ने स्रोतको भनाइ छ ।

राष्ट्रपतिमा एमाले जसरी पनि कांग्रेसको उम्मेदवार रोक्न चाहन्छ । कांग्रेसले पनि एमालेको उम्मेदवार रोक्न चाहेको छ ।

कांग्रेस र माओवादीसहित पुरानो गठबन्धनलाई ब्यूँताउँदा नै सहज हुनेछ । एमालेका अध्यक्ष ओलीले दाहाललाई कुनै पनि बेला धोका दिएर सडकमा पुर्‍याउन सक्छन् ।

Published : Saturday, 2023 February 4, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया