मान्छेहरूसहित व्यूरोद्वारा काठमाडौंमा लाखौंको लागुऔषध बरामद, अफिम खेती फडानी

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो, कोटेश्वरले नियन्त्रित लागुऔषध ६६०० एम्पुल र भाडाको टाटा सुमो तथा
अबैध लागु औषध खैरो हेरोईन ८७.५ ग्रामसहित ५ जना मानिस पक्राउ गरेको जनाएको छ ।

व्यूरोले विशेष सूचनाको आधारमा लागुऔषध कारोवार, बिक्री वितरण तथा ओसार–पसारको अनुसन्धान गर्दै जाँदा काठमाडौं उपत्यकाका बिभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ गरेको व्यूरोका कार्यालय प्रमुख (एसएसपी) विकासराज खनालले बताएका छन् ।

पक्राउ परेकाहरूविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन,२०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको छ ।

प्रहरीले नियन्त्रित लागुऔषध ६६०० एम्पुल र भाडाको टाटा सुमो गाडीसहित चालकलाई पक्राउ गरेको छ ।

प्रहरीले माघ १७ गते काठमाडौंको टेकुस्थित सडक किनारमा रोकी राखेको वीरगञ्जबाट काठमाडौं चल्ने ना.१ ज.५५२४ नम्वरको भाडाको टाटा सुमो गाडी खानतलासी गर्दा बुप्रेनोर्फिन (नुफिन) २२०० एम्पुल, डाईजेपाम २२०० एम्पुल, फेनारगन २२०० एम्पुल समेत गरी कुल ६६०० एम्पुल तथा गाडी बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।

गाडीका चालक सर्लाहीको हरिवन नगरपालिका ८ ३९ वर्षीय कैलाश बिकलाई पक्राउ गरेको एसएसपी खनालले बताएका छन् ।

लागुऔषध खैरो हेरोईन ७७ ग्राम, डिजिटल तराजु थान– १ र नगद रू.१,६७,५०० सहित ३ जना मानिसलाई पक्राउ गरिएको व्यूरोका प्रवक्ता तथा एसपी योगेन्द्रकुमार खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले माघ १५ गते गौरीघाटस्थित सडक किनारबाट सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थायी ठेगाना भएका ३५ वर्षीय मनोज थापा मगर र ३३ वर्षीय रामकुमार श्रेष्ठसँग रहेका मनोज थापा मगरको साथबाट लागुऔषध खैरो हेरोईन २ ग्राम र रामकुमार श्रेष्ठको साथवाट नगद रू.१,६७,५०० बरामद गरी पक्राउ गरिएको छ ।

पक्राउ परेकामध्ये रामकुमार श्रेष्ठ कागेश्वरी मनोहरा नगरपालिका ८ स्थितमा रहेको कोठामा खानतलासी गर्दा लागुऔषध खैरो हेरोईन २५ ग्राम र डिजिटल तराजु थान– १ समेत बरामद भएको छ ।

उनीहरूलाई तत्काल सोधपुछ अनुसन्धान गर्दा बरामद लागुऔषध खैरो हेरोईन बिक्री गर्ने सिरहाको गोलबजार नगरपालिका ८ का ३५ वर्षीय सिकेन्द्र साफीलाई पनि पक्राउ गरिएको छ ।

बुद्ध एयरको उडानद्वारा जनकपुरबाट काठमाडौं आएको अबस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कक्षतर्फको ट्याक्सी पार्किङबाट लागुऔषध खैरो हेरोईन ५० ग्रामसहित पक्राउ गरिएको एसएसपी खनालले बताएका छन् ।
व्यूरोले खैरो हेरोइन १०.५ ग्राम, डिजिटल तराजु– १ सहित १ जनालाई पनि पक्राउ गरेको छ ।

व्यूरोले माघ १६ गते कोटेश्वरबाट सिन्धुलीको कमलामाई नगरपालिका ११ स्थायी ठेगाना भएका ३२ वर्षीय विमल चौहानलाई लागु खैरो हेरोइन १०.५ ग्राम र डिजिटल तराजु थान– १ सहित पक्राउ गरिएको छ ।

बरामद नियन्त्रित लागुऔषध प्रतिएम्पुल रु. ३ सयको दरले कुल ६६०० एम्पुलको अन्दाजी मूल्य रु.१९ लाख ८० हजार रहेको छ ।

खैरो हेरोईन प्रतिग्राम रु. १२ हजारको दरले ८७.५ ग्रामको अन्दाजी मूल्य रु.१० लाख ५० हजार रहेको छ ।

खैरो हेरोईन तथा एम्पुलको कुल मूल्य अन्दाजी रु.३० लाख ३० हजार रहेको एसएसपी खनालले बताएका छन् ।

उता, मकवानपुरमा प्रहरीद्वारा लागुऔषध गाँजा र अफिम अवैध खेती फडानी गरिएको छ ।

ब्यूरोबाट खटिएको प्रहरी निरीक्षकसहितको टोली र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीद्वारा गाँजा तथा अफिमको खेती फडानी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मकवानपुरको कैलाश गाउँपालिकाको वडा नं. २, ७, ८ र १० मा अवैध गाँजा खेती अन्दाजी ४० बिघा र अवैध अफिम खेती अन्दाजी २ बिघा फडानी गरिएको छ ।

कैलाश गाउँपालिकाको वडा नं. १, २, ५ र ६ तथा राक्सीराङ गाउँपालिकाको वडा नं. ६, ७ र ८ मा अवैध गाँजा खेती अन्दाजी ६२ बिघा १० कठ्ठा र अवैध अफिम खेती अन्दाजी ६३ बिघा फडानी गरिएको छ ।

कैलाश गाउँपालिकाको वडा नं. ७, ८ तथा राक्सीराङ गाउँपालिकाको वडा नं. १, ४, ६ र ७ मा अवैध गाँजा खेती अन्दाजी ३० बिघा १० कठ्ठा तथा अवैध अफिम खेती अन्दाजी १४३ बिघाफडानी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2023 February 3, 3:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया