सेलिब्रेटी भए पनि लामिछाने बलात्कारका आरोपी हुन्, क्रिकेट संघले ठूलो गल्ती गर्‍यो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कारका आरोपी हुन् । लामिछानेलाई अहिले नै क्रिकेटको प्रशिक्षणमा लगेर ठूलो गल्ती भएको छ ।

लामिछानेले किशोरीलाई बलत्कार गरेको आरोप लागेको छ । उनले सफाइ नपाउँदासम्म कुनै पनि कार्यमा लगाउनु हुँदैन । लामिछानेले आफ्नो गरिमाको ख्याल राख्थे भने किशोरीलाई बलात्कार गर्ने थिएनन् । उनले युवतीहरूलाई खेलौना ठानेका छन् ।

अदालतले लामिछानेलाई धरौटीमा छाडेको छ । धरौटीमा छाडेको भनेर लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पनि परेको छ ।

लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

लामिछानेलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेशी शुक्रबार तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिएका छन् ।

नेपाल क्रिकेट संघले लामिछानेलाई आइसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको एक दिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा समावेश गरिसकेको छ ।

संघले बलात्कार आरोपी लामिछानेलाई टिममा राखेर गल्ती गरेको छ । लामिछानेको मनोबल गिरेको छ । मनोवल गिरेको व्यक्तिले राम्रोसँग खेल्न सक्दैन ।

युवतीलाई बलात्कार गरेको आरोप लागेका लामिछाने जति नै ठूलो सेलिब्रेटी भए पनि सजाय हुनुपर्छ । उनलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशमा पुनः विचार हुनुपर्छ भनेर महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत जानुभनेको विषय गम्भीर भएरै हो ।

लामिछानेको बलात्कारको मुद्धामा प्रभाव पार्न संघले उनलाई प्रशिक्षणमा पारेर ठूलो गल्ती गरेको छ ।

Published : Friday, 2023 February 3, 11:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया