पोखरा उड्ने जहाजहरूमा आधा मात्रै यात्रु, पर्यटन व्यवसायलाई ठूलो क्षति : बतास

काठमाडौं । बतास समूहका अध्यक्ष समेत रहेका उद्योगी, व्यवसायी आनन्दराज बतासले यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन व्यवसायमा क्षतिपुगेको बताएका छन् ।

अध्यक्ष बतासले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यती एयर दुर्घटनापछि पोखराको पर्यटनमा अकल्पनीय क्षति पुगिरहेको छ ।’

उनले भनेका छन्, ‘होटल बुकिङ क्यान्सिलदेखि एयरलाइन्सहरू नै आधा पेसेञ्जर राखेर उडाउनुपर्ने अवस्था रहेछ ।’

‘स्थलमार्गको हालत झनै बेहाल रहेछ’, अध्यक्ष बतासले भनेका छन्, ‘यसैले पोखरा पर्यटन पुनरुत्थानका निमित्त केही समय प्रवर्धनात्मक कार्यक्रमको खाँचो देखियो ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हचुवाको भरमा हतार–हतार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गराएका थिए ।

उद्घाटन भएको केही दिनमा यती एयरलाइन्सको ७२ जना बोकेको जहाज पोखरामा दुर्घटना भयो ।

त्यसले गर्दा यात्रु जहाजमा चढ्न डराएका छन् । पोखराको टिकट पहिला जस्तो बिक्री हुन छाडेको व्यवसायीहरूको भनाइ छ ।

जहाज दुर्घटनापछि पोखराको पर्यटन व्यवसाय संकटमा पर्ने हो कि भन्ने डर छ ।

मुग्लिनदेखि पोखरासम्मको सडक धुलो र भत्किएर हिँड्नै नसक्ने अवस्थामा छ ।

प्राधिकरणका महानिर्देशक अधिकारी अहिलेसम्म पदमा बसेका छन् । जहाज दुर्घटनाबारेमा अधिकारीलाई निलम्बन गरेर अनुसन्धान गर्नुपर्ने थियो । तर, अनुसन्धान भएको छैन । अधिकारी चुपचाप बसेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग हवाइ उड्डयन र पर्यटन व्यवसायीहरूले ठूलो अपेक्षा राखेका छन् ।

Published : Tuesday, 2023 January 31, 9:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया