‘डगी डान्स’बाट हिट बनेकी पत्रकार ऋषि धमलाकी पत्नी नयाँ पार्टीमा प्रवेश

काठमाडौं । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष तथा पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम धमला ‘नागरिक उन्मुक्ति पार्टी’मा प्रवेश गरेकी छिन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एलिजा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन् ।
अभिनेत्रीसमेतरहेकी एलिजालाई सो पार्टीकी अध्यक्ष तथा प्रतिनिधि सभाकी सांसद रञ्जिता श्रेष्ठले पार्टी प्रवेश गराएकी हुन् ।
पार्टी प्रवेश गरेपछि एलिजाले भनेकी छिन्, ‘आदरणीय आमा–बुवा, दाजुभाई तथा दिदीबहिनीहरू सबैमा नमस्कार ! आजबाट मैले राजनीतिक यात्राको थालनी गरेकी छु ।’
‘माननीय रञ्जिता श्रेष्ठको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेशसँगै मेरो राजनीतिक यात्राको आरम्भ भएको छ’, एलिजाले भनेकी छिन् ।
‘म देश र जनताको सेवाको लागि राजनीतिमा आएकी हुँ’, एलिजाले भनेकी छिन्, ‘पार्टीको मूल उद्देश्य पूरा गर्नको लागि अहोरात्र खटिने प्रण गर्दछु ।’
उनले भनेकी छिन्, ‘समाज रुपान्तरणमा मेरो योगदान रहने विश्वास दिलाउन चाहन्छु ।’
‘दिशाहीन तथा गतिहीन नेतृत्वका गलत आकांक्षा तथा गलत अभिप्रायका कारण नेपाली समाज तथा सामाजिक मान्यताहरू बन्धक रहँदै आउनुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी छ’, एलिजाले भनेकी छिन् ।
‘हामीले नयाँ पुस्तालाई राजनीतिक क्रान्ति भन्दापनि आर्थिक क्रान्तिको जिम्मेवारी हस्तान्तरण गरी दीर्घकालीन पथमा नेपाली समाजको प्रतिनिधित्व गर्ने परिकल्पना गरेका छौं’, उनले भनेकी छिन् ।
‘हामी सामूहिक भावनाले अघि बढ्छौं’, उनले भनेकी छिन्, ‘यहाँहरूको आर्शीवाद पाउने आशासँगै सकारात्मक सल्लाह र सुझावलाई सधैं शिरोधार्य गर्ने वाचा पनि गर्दछु ।’
एलिजा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेपछि उनका पति ऋषि धमला कुन पार्टीमा छन् भनेर प्रश्न उठेको छ ।
धमला सुरुवाती दिनमा एमाले समर्थक थिए । पछि उनी नेपाली कांग्रेस समर्थक बनेका थिए । अहिले पत्नी एलिजा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेपछि धमला पनि सोही पार्टीमा प्रवेश गरेको भनेर चर्चा भएको छ । पत्रकार धमलाले आफू कुन पार्टीमा प्रवेश गरेको हो केही भनेका छैनन् ।
६ महिना अगाडि डगी डान्सको भिडियो टिकटकमा राखेपछि एलिजा चर्चित बनेकी थिइन् । बेलाबेला एलिजाका बोल्ड तस्वीरहरूले तहल्का मच्चाउने गरेका छन् ।






फेसबुकबाट तपाईको प्रतिक्रिया