गम्भीर मोडमा प्रचण्डले कांग्रेस सम्झिए, ठूलो संकटमा माओवादी, देउवाले दिन सक्छन् निकास

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समेत विश्वासमा लिएर राष्ट्रिय सहमतिमा जानुपर्ने धारणा राखेका छन् ।

बिहीबार काठमाडौंमा बसेको स्थायी कमिटीको बैठकमा दाहालले राष्ट्रपति निर्वाचनमा आफू गम्भीर रहेको बताएका छन् ।

उनले निर्वाचन अघिको गठबन्धन छाडेर एमालेसँग सहकार्य गर्नुपरेको अवस्थाका बारेमा ब्रिफिङ गरेका छन् ।

राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमतिलाई जोड दिनेबारेमा बैठकमा छलफल भएको छ ।

कांग्रेसले विश्वासको मत दिएपछि राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाले राष्ट्रपतिमा राष्ट्रिय सहमतिमा जोड दिनुपर्ने छलफल भएको छ ।

पत्रकारहरूसँग कुरा गर्दै स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले मिश्रित संसद रहेकाले संसदको पाँच वर्षे कार्यकाल सुनिश्चित गर्न र संविधानको संरक्षण र राजनीतिक दलहरूबीच सहमतिमा सहजताका लागि माओवादीले राष्ट्रपति चयनमा राष्ट्रिय सहमतिलाई नै जोड दिने बताए ।

उनले भने, ‘संविधानको संरक्षक तथा साझा अभिभावक राष्ट्रिय सहमतिबाटै चयन गर्दा सहज हुन्छ भन्ने माओवादी केन्द्रमा छलफल भएको छ ।’

प्रधानमन्त्री दाहाललाई कांग्रेसले समेत विश्वासको मत दिएपछि नयाँ परिस्थिति सिर्जना भएकाले राष्ट्रपति चयनमा राष्ट्रिय सहमतिलाई जोड दिइएको पौडेलले बताए ।

उनले भने, ‘कांग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दियो। राजनीतिमा नयाँ परिस्थिति निर्माण भएर राष्ट्रपतिमा राष्ट्रिय सहमति गरौं भन्ने हाम्रो मत हो ।’

‘यसको मतलब एमालेलाई बाहिर राखेर सहमति गरौं भन्न खोजिएको होइन’, नेता पौडेलेले भनेका छन् ।

प्रधानमन्त्री दाहालले संवैधानिक पदमा शक्ति सन्तुलनको आवश्यकता रहेको बताएका छन् ।

दाहालले एउटै पार्टीलाई दुई संवैधानिक प्रमुखको जिम्मेवारी दिँदा असन्तुलनको अवस्था हुनसक्ने बताएको एक नेताले उल्लेख गरेका छन् । दाहालले राष्ट्रपतिको निर्वाचन जटिल रहेको बताएका छन् ।

कांग्रेसलाई लिएर प्रधानमन्त्री दाहालले चिन्ता जनाएका छन् ।

दाहाल एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग सन्तुष्ट छैनन् । दुई महिनाभित्र एमालेसँगको सहकार्य तोड्ने पक्षमा पनि दाहाल छैनन् ।

कांग्रेसलाई विश्वासको मत दिन बाध्य बनाएका प्रधानमन्त्री दाहाल अहिले आएर धर्मसंकटमा परेका छन् ।

एमालेले सभामुख पद लिइसकेको छ । राष्ट्रपति पद पनि पूर्वसहमतिअनुसार लिने पक्षमा छ ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले राष्ट्रपति आफ्नो पार्टीले लिने र जित्ने दाबी गर्दै आएका छन् ।

एमालेबाट राष्ट्रपति पदमा सुवासचन्द्र नेम्बाङ, ईश्वर पोखरेलसहितका नेताहरूको नाम चर्चामा छ ।

एमालेले सभामुख र राष्ट्रपति पद पाउनेवित्तिकै दाहाललाई प्रधानमन्त्रीमा समस्या दिनेछ । ओलीको रणनीतिलाई दाहालले राम्रोसँग बुझेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई संकटबाट बचाउन सक्छन् । दाहालले सानो भूमिका खेल्न सक्ने हो भने एमालेलाई साइजमा राख्न सकिनेछ ।

Published : Thursday, 2023 January 26, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया