गृहमन्त्री लामिछानेकै जिल्लाकी युवती पनि नागरिकता काण्डमा पक्राउ

काठमाडौं । प्रहरीले झुठा विवरण देखाई नागरिकता लिएको कसूरका प्रतिवादी ३२ वर्षीया युवन्तीका तामाङलाई पक्राउ गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका–१२ चुनिखेल बस्ने चितवनको खैरहनी नगरपालिका–८ घर भएकी तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

झुठा विवरण पेश गरी वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिएको भन्ने मुद्दाको अनुसन्धानको सिलसिलामा तामाङलाई जिल्ला अदालत चितवनबाट प्रदान गरिएको पक्राउ अनुमति पत्रको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

उनलाई बुढानिलकण्ठ नगरपालिका–१२ चुनिखेलबाट प्रहरीले पक्राउ गरेको हो । तामाङलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उप–प्रधान तथा गृहमन्त्री रवि लामिछाने नागरिकता र राहदानी कीर्ते काण्डमा विवादमा परेका बेला चितवनकै महिला पनि नागरिकता कीर्ते काण्डमा पक्राउ परेकी छिन् ।

लामिछाने राजनीतिक शक्तिका आडमा सरकारमा मन्द्राएर बसेका छन् । उनको दोहोरो नागरिकता र राहदानी काण्डमा अदालतमा मुद्दा बिचाराधीन छ । अदालतले उनको मुद्धालाई हेरिरहेको छ ।

Published : Thursday, 2023 January 26, 8:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया