धवलशम्शेर राणाको नाम भजाउँदा मल्लको धन्दा फस्टायो

काठमाडौं । आफूलाई मिडिया नेपालको बाँके जिल्ला अध्यक्ष बताउने आशिष मल्लले स्थानीय तथा साना व्यसायीहरूलाई पैसाको बार्गेनिङ गरेर दुःख दिएको आरोप लागेको छ ।

मल्ल मिडिया नेपालको कुनै जिम्मेवारीमा नभएको राप्रपाका नेताहरूले पनि बताएका छन् ।

सूचना विभागको दर्तामा हेर्दा उनले उल्लेख गरेको एबीपी क्राइम न्युजको दर्ता पनि भेटिदैन । मल्लले आफूलाई पत्रकार भन्दै सर्वसाधारणलाई ठगी गर्दा नेपालगञ्जका पत्रकारहरूलाई पनि समस्या पर्ने गरेको स्थानीय पत्रकारहरूले बताएका छन् ।

नाम उल्लेख नगर्ने सर्तमा एक पत्रकारले भने, ‘उनी आफूलाई राप्रपा निकट मिडिया नेपालको नेता भने पनि कुनै पनि संगठनमा नभएको र राप्रपाको नेताको आडभरोसामा गलत काम गरिरहेका छन् ।’

मल्लले भनेको एबीपी क्रामइ न्युज नामको साइट सञ्चालन गरेर गलत धन्दा गरेपछि केही समय पहिला पनि प्रहरी हिरासतमा पुगेका थिए ।

पत्रकारको काम समाचार लेख्ने हो । पैसाको वार्गेनिङ गर्ने होइन । पत्रकारिताको मूल्य मान्यताविपरित उनले मल्ल आफैले कुनै सूचना प्राप्त गरे भने टिमसहित पुग्ने गरेको र त्यहाँ उनले पैसाको बार्गेनिङ गरेर असुल्ने गरेको भन्दै केही समय पहिला नेपाल पत्रकार महासंघ बाँकेले पनि विज्ञप्ति मार्फत उनको कर्तुतको भण्डाफोर गरेको थियो ।

बाँकेबाट प्रतिनिधि सभामा निर्वाचित राप्रपाका सांसद धवलशम्शेर राणासँग नजिक भएको भन्दै डरधाक दिएर मल्लले असुली गर्ने गरेको मध्यपश्चिम पानी उद्योगका प्रोप्राइटर उदीतबाबु रेग्मीले बताएका छन् ।

उद्योगले उत्पादन गरेर बजारमा गइसकेको पानीमा केही दिनअघि कालो पदार्थ (लेउ) देखिएको थियो ।

सोही बोतल लिएर मल्ल पानी उद्योगमा पुगेर भिडियो बनाइ बार्गेनिङ गरेको पीडित रेग्मीले बताएका छन् ।

रेग्मीले भने, ‘केही समय पहिलाको घटना हो, सुरुमा आएर भिडियो खिचे, पछि तपाईंहरूको भिडियो मेटाइदिन्छौं, वार्षिक २ लाख रुपियाँ दिनुस् भनेर भन्नुभयो ।’

आफूसँगै गएपनि पैसाको बार्गेनिङ गर्न मल्लले आफ्ना कर्मचारीलाई लगाउने गरेका छन् । सोमबार नेपालगञ्जको रोयल क्याफेमा रेग्मीलाई बोलाएर मल्ल र उनका सहयोगीले दाइ मिल्न पर्छ, म हजुरलाई विज्ञापनको प्लान पठाउँछु, त्यसै अनुसार गर्नुभयो भने भिडियो डिलिट गर्छु तपाईले वर्षको २ लाख रुपियाँ दिनुपर्छ भनेको रेग्मीले बताएका छन् ।

उद्योग सञ्चालक रेग्मीले विज्ञापन गर्न सकिँदैन, अहिले पानीको सिजन पनि होइन, भनेर जवाफ दिएपछि मंगलबार उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए ।

भिडियोमा पानी उद्योगका सञ्चालक रेग्मीले मानवीय त्रुटिका कारण गल्ती भएको स्वीकार गर्दै कानूनी प्रक्रियाअनुसार जाने जवाफ पनि दिएका छन् ।

फलस्वरुप नेपालगञ्जबाट बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीसहितको टोली पुगेर अनुगमन गरेको छ ।

अनुगमनका क्रममा केही कुराहरू सुधार गर्नका लागि निर्देशन दिएको र निर्देशन पालना भएपछि उद्योगले उत्पादन सुरु गर्ने रेग्मीले जानकारी दिएका छन् ।

रेग्मीले आफू कानून पालनाका सवालमा प्रष्ट रहेको बताउँदै कानूनअनुसार हुने कारबाही भोग्न पनि तयार रहेको बताएका छन् ।
काम गर्दा कहिलेकाहिँ गल्ती हुने रेग्मीले स्वीकार गरेका छन् ।

पत्रकारितको नाममा यसरी गुण्डागर्दी गर्नेहरूलाई सरकारी निकायले पनि कानूनी दायरामा ल्याउनका लागि माग गरेका छन् ।

पत्रकार भन्दै ठगी गर्ने मल्ल प्रहरीसँग पैसा बार्गेनिङ गरेको अभियोगमा पक्राउ परिसकेका हुन् भने उनका यस्ता कर्तुतबारे बाँके प्रहरी पनि राम्रोसँग जानकार रहेको छ ।

यता, राप्रपाका सांसद धवलशम्शेर राणाले मल्ललाई आफूले चिने पनि उ आफ्नो संगठनको मान्छे नभएको बताएका छन् । राणाले भने, ‘मल्ल मेरो मान्छे–सान्छे कोही होइन, प्रहरीलाई भनेर समात्न लगाए हुन्छ ।’

मिडिया नेपालका केन्द्रीय अध्यक्ष गोपाल पौडेलले आशिष मल्ल बाँके जिल्लामा कुनै पनि पदमा नरहेको बताएका छन् ।

पौडेलले यस्ता घटनाले संगठन पनि बद्नाम गर्ने भएकाले यसबारे जिल्लास्तरका नेताहरूसँग बुझ्ने बताएका छन् ।

घटनाका विषयमा मल्लसँग प्रतिक्रिया लिन प्रयास गर्दा सम्पर्क हुन सकेन ।

Published : Thursday, 2023 January 26, 7:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया