आईजीपी सिंहद्वारा प्रहरी अस्पतालको भवनहरूको उद्घाटन, उपचारमा झन् सहज हुने

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा जेष्ठ प्रहरी अतिथि गृह भवनको भवन उद्घाटन गरेका छन् ।
बिहीबार नेपाल प्रहरी अस्पताल महाराजगंजमा आयोजित एक समारोहवीच उद्घाटन गरेका हुन् ।
उनले नवनिर्मित भवनको निरीक्षण गर्नुका साथै भवन परिसरमा वृक्षरोपण समेत गरेको विज्ञप्तिमा उल्लेख छ ।
सिंहले नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज कार्यक्रममा आवद्ध रही व्यवस्थापन कार्यमा सहयोग पुर्याएका प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारी, प्राविधिक प्रहरी नायव उपरीक्षक निर्माला रायमाझी र प्रहरी नायव निरीक्षक पुलवराज गिरीलाई पुरस्कार प्रदान गरेका छन् ।
उनले पुस महिनाको उत्कृष्ट प्राविधिक प्रहरी नायव उपरीक्षक डा. अविनाशध्वज जाशी र प्रहरी सहायक निरीक्षक हरिहर थापा समेतलाई पुरस्कार प्रदान गरेका छन् ।
महानिरीक्षक सिंहले सर्वसाधारण र नेपाल प्रहरीका वाहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीका सन्ततीहरूको वृत्ति बिकास गरी विकसित र समृद्ध राष्ट्र निर्माणमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम सार्थक हुने विश्वास व्यक्त गरेका छन् ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालन गर्न सम्बन्धन प्राप्त यस शैक्षिक संस्थालाई समयसापेक्ष स्तरोन्नति गराउँदै चिकित्सा शास्त्र अध्ययन अध्यापन गराउने देशकै नमूना शिक्षण संस्थाको रूपमा विकास गरिने सिंहले बताएका छन् ।
चिकित्सा शिक्षा क्षेत्रमा विकास भएका नविनतम् प्रविधिहरूको अवलम्बन गर्दै शिक्षण प्रणालीलाई प्रविधिमैत्री, समयसापेक्ष र प्रयोगात्मक बनाउने उनले बताएका छन् ।
प्रहरी महानिरीक्षक सिंहले आगामी शैक्षिक सत्रदेखि अमर र अशक्त प्रहरीका सन्ततीहरूमध्ये जेहेन्दार १ जनालाई पूर्ण छात्रवृत्ति, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दारदेखि प्रहरी जवानसम्म र प्रहरी कार्यालय सहयोगीका सन्ततीहरू १÷१ जनालाई ५० प्रतिशत छात्रवृत्ति सुनिश्चित गरिने बताएका छन् ।
प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी कल्याण कोषको सहयोगमा नवनिर्मित जेष्ठ प्रहरी अतिथि गृहले उनीहरूको अपेक्षालाई सम्मान र सम्बोधन गर्दै नेपाल प्रहरी अस्पतालबाट दैनिक रूपमा सेवा सुबिधा प्राप्त गर्ने कुल संख्यामध्ये करिब ४० प्रतिशत अवकाश प्राप्त प्रहरी कर्मचारीहरू लाभान्वित हुने गरेको तथ्यले समेत पूर्व प्रहरी कर्मचारीहरूको सेवामा नेपाल प्रहरी अस्पताल प्रतिबद्ध रहेको सन्देश दिएको उल्लेख गरेका छन् ।
नेपाल प्रहरीका कर्मचारीहरूमा यस अतिथि गृहले संगठनप्रति सकारात्मक दृष्टिकोण बिकास गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।
उनले बिरामी वा सेवाग्राहीको दर्जा हेरेर र पहुँचको आधारमा मात्र सेवा प्रवाह गरियो भने कुनै सार्थकता नहुने बताएका छन् ।
प्रहरी महानिरीक्षक सिंहले भने, ‘अस्पतालबाट प्रदान गरिने सेवाहरूमा स्वास्थ्य अवस्थाको आधारमा सम्पूर्ण प्रहरी कर्मचारी र सर्वसाधारणको उत्तिकै सरल र सहज पहुँच हुनुपर्छ ।’
नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा जेष्ठ प्रहरी अतिथि गृहको प्रभावकारी संचालनको लागि आवश्यक कार्यविधि र मापदण्ड तयार गरी यसलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन अस्पताल प्रशासनलाई उनले निर्देशन समेत दिएका छन् ।
नेपाल प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरी संगठन स्वास्थ्य सम्बन्धी शैक्षिक कार्यक्रमहरू संचालन गरी राष्ट्रलाई आवश्यक दक्ष स्वास्थ्यकर्मीको उत्पादन गर्न विगत देखिनै प्रयासरत रहेको बताइन् ।
उनले शैक्षिक सत्रबाट शैक्षिक कार्यक्रम संचालनको लागि सम्बन्धन प्राप्त भई प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालन भएको बताएकी छिन् ।
देशमा शान्ति सुरक्षा कायम राख्न अहोरात्र खटिएका प्रहरी कर्मचारी तथा आफ्नो जीवनको उर्जावान समय प्रहरी सेवामा दिई अवकाश भएका पूर्व प्रहरी कर्मचारीहरू र तिनका आश्रित परिवारहरूको स्वास्थ्य उपचारलाई गुणस्तरीय बनाउन नेपाल प्रहरी अस्पताल प्रतिवद्ध रहेको उनले बताएकी छिन् ।
प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. सञ्जयबिक्रम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रमसम्बन्धी प्रतिवेदन र प्राविधिक प्रहरी निरीक्षक ई. शम्भूप्रसाद कोइरीले जेष्ठ प्रहरी अतिथि गृह भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपाल प्रहरी कल्याण कोषको आन्तरिक श्रोतबाट निर्मित जेष्ठ अतिथि गृह भवन कुल २ करोड ८३ लाख ९२ हजार १ सय ८० रूपियाँ ३८ पैसामा निर्माण कार्य सम्पन्न भएको हो ।
३ तले नवनिर्मित भवनको कुल क्षेत्रफल ६ हजार ९ सय ७३ दशमलव ५५ वर्ग फिट रहेको छ ।
नवनिर्मित भवनको भुइँ तलामा मेश, इन्टरटेनमेन्ट हल, शौचालय तथा कार्यालय कक्ष रहेको छ । पहिलो र दोस्रो तलामा २ वटा क्याबिन, ३ वटा कमन कोठा र ट्वाइलेट÷बाथरूम ब्लकको व्यवस्था गरिएको छ । नवनिर्मित भवनमा १८ जनासम्म बस्ने क्षमता रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया